काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन अनिश्चितकालका लागि बन्द, ल्यान्डफिल साइट पुगेका गाडीहरू पनि फिर्ता

लोकपथ
2.9k
Shares

काठमाडौं । नुवाकोटको धुनिबेशी नगरपालिका–१ बन्चरे कुण्डुले ल्यान्डफिल साइटका प्रभावित स्थानीयको आन्दोलनसँगै काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन अनिश्चितकालका लागि बन्द भएको छ । यसअघि गरिएका सम्झौता पूरा नभएको भन्दै प्रभावित स्थानीय आन्दोलनमा उत्रिन बाध्य भएका हुन् ।

फोहोर विसर्जनका लागि ल्यान्डफिल साइट पुगेका गाडीहरू पनि उनीहरूले फिर्ता गराइदिएका छन् । 

यद्यपि, कानुनमा भने अत्यावश्यक फोहोर व्यवस्थापन कार्य रोक्न नहुने व्यवस्था छ ।

धुनिबेशी नगरपालिका–१ का वडाध्यक्ष मानबहादुर तामाङका अनुसार, पटकपटक भएका पुराना सम्झौता कार्यान्वयनमा नआएसम्म फोहोरमैला विसर्जन गर्न नदिने अडानमा स्थानीय छन्   । 

महानगरपालिका वातावरण व्यवस्था विभागकी प्रमुख सरिता राईले फोहोरका गाडी बाटोमै रोकिएको जानकारी दिइन्  ।‘उहाँहरूले बीच बाटोमै फोहोरका गाडीहरू रोक्नुभएको छ,’ उनले भनिन् । 

काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयसँग स्थानीयले पटकपटक सम्झौता गर्दै आए पनि उनीहरूका माग सम्बोधन हुन सकेका छैनन् । स्थानीयले बन्चरेडाँडाका बस्तीहरूलाई ३–४ हजार मिटर पर सार्नुपर्ने, फोहोरलाई कुहिने र नकुहिने छुट्याएर मल कारखाना सुरुवात गर्नुपर्ने, गुठीको जग्गा ९० प्रतिशत उपभोग गर्न पाउनुपर्नेलगायत माग राख्दै आएका छन् । यी मागहरूमध्ये कुनै पनि माग पूरा नभएको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?