काँकरभिट्टबाट चार अर्ब ४८ करोडको पेट्रोलियम पदार्थ आयात

लोकपथ
112
Shares

झापा ।  चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिकमा पूर्वी नाका काँकरभिट्टाबाट चार अर्ब ४८ करोड ४५ लाख ६८ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वी नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो ।  

मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईका अनुसार अघिल्लो आव २०८१/०८२ को सोही अवधिको तुलनामा  पाँच करोड  ९० लाख ३३ हजार अर्थात् एक दशमलव ३० प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व तीन दशमलव २० प्रतिशत अर्थात्  छ करोड ८९ लाख पाँच हजार ले बढेको सूचना अधिकारी हुमागाईँले बताए । 

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको तीन महिनामा पेट्रोलियम पदार्थ आयातबाट दुई अर्ब २० करोड ६८ लाख ६२ हजार राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा  दुई अर्ब ३२ करोड ७८ लाख मूल्य पर्ने २६ हजार ३२० किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी  एक अर्ब २६ करोड १५ लाख मूल्य पर्ने १३ हजार ३५६ किलोलिटर डिजेल आयात भएको छ ।

त्यस्तै तीन महिनाको अवधिमा  ६२ करोड ८१ लाख मूल्य पर्ने छ हजार ३६१ मेट्रिक टन एलपी ग्यास,  २० करोड २६ लाख मूल्य पर्ने दुई हजार २५६ किलोलिटर एटीएफ र रु तीन करोड ७९ लाख मूल्य पर्ने ४२० किलोलिटर मट्टितेल आयात भएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?