बीवाईडीद्वारा एक करोड ४० लाख गाडी उत्पादन, ब्राजिलका राष्ट्रपति लुला बने विशेष गाडीको मालिक

लोकपथ
308
Shares

काठमाडौं । चिनियाँ अटो निर्माता कम्पनी बीवाईडीले एक करोड ४० लाख गाडी उत्पादन गरेको अवसरमा ब्राजिलको बाहिया राज्यको कामाकारी शहरस्थित आफ्नो सवारी उत्पादन केन्द्रमा विशेष कार्यक्रम आयोजना गरेको छ । 

उक्त अवसरमा उत्पादन गरिएको सङ प्रो नामक प्लग–इन हाइब्रिड बीवाईडी कार ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई हस्तान्तरण गरिएको थियो ।

बीवाईडीका अनुसार यो उपलब्धि कम्पनीको अन्तर्राष्ट्रिय विस्तारको क्रममा एक महत्त्वपूर्ण चरण हो । 

कामाकारीमा रहेको कारखाना एशियाभन्दा बाहिर बीवाईडीको सबैभन्दा ठुलो र ल्याटिन अमेरिकाको सबैभन्दा ठुलो इलेक्ट्रिक सवारी उत्पादन केन्द्र हो । दक्षिण चाइना मर्निङ पोस्टका अनुसार यो परियोजनामा ५.५ अर्ब ब्राजिलियन रियाल (झण्डै ९७८ मिलियन अमेरिकी डलर) लगानी गरिएको छ ।

समारोहमा ब्राजिलका उपराष्ट्रपति जेराल्डो आल्कमिन, ब्राजिलस्थित चिनियाँ राजदूत झु छिङछियाओ, विभिन्न राज्य तथा स्थानीय अधिकारीहरूको  उपस्थिति थियो ।

समारोहमा राष्ट्रपति लुला ले भने, ‘चीन पछिल्ला १५ वर्षदेखि ब्राजिलको सबैभन्दा ठुलो व्यापारिक साझेदार बनेको छ, र हामी एक–अर्कालाई ग्लोबल साउथका महत्त्वपूर्ण मुलुकका रूपमा हेरिरहेका छौँ, ‘उनले थपे, ‘ब्राजिलले अन्तर्राष्ट्रिय सम्बन्धमा सम्मान र निष्पक्ष व्यवहार चाहन्छ, र चीन सँगजस्तै अन्य देशहरूसँग पनि समान साझेदारी निर्माण गर्न चाहन्छ ।’

बीवाईडीका अध्यक्ष वाङ छुआनफुले भने, ‘हामी ब्राजिलमा ११ वर्षदेखि सक्रिय छौँ । आज यहाँ बीवाईडीका विद्युतीय बसहरू सामान्य देखिन्छन् । ब्राजिलमा हाम्रा एक लाख ७० हजारभन्दा बढी  ग्राहकहरू छन् र दुई वर्षदेखि हामी यहाँको बीवाईडी बजारको अग्रणी बिक्रेता रहेका छौँ ।’

बीवाईडीले यो उपलब्धिलाई आफ्नो वैश्विक रण अभियानको नयाँ अध्याय भनेको छ । कम्पनीले अबका दिनहरूमा स्थानीय उत्पादन संयन्त्रसँगै अन्तर्राष्ट्रिय विस्तारलाई अझ सुदृढ गर्ने तथा इनोभेसन, विद्युतीय र दिगोपनतर्फ सवारी उद्योगको रूपान्तरणलाई अगाडि बढाउने प्रतिबद्धता जनाएको छ ।

हालसम्म बीवाईडीका छ वटा विदेशी कारखाना छन् । जसमा ब्राजिल, थाइल्याण्ड, हंगेरी, उज्बेकिस्तान, मलेसिया र कम्बोडियामा बीवाईडीका कार उत्पादन भइरहेका छन् । ब्राजिलमा मात्र कम्पनीले तीन वर्षभित्र एक लाख ७० हजारभन्दा बढी सवारी बिक्री गरिसकेको छ । सेप्टेम्बर २०२५ मा मात्रै १० हजारभन्दा बढी सवारी बिक्री भएको छ भने जनवरीदेखि सेप्टेम्बरसम्म ७७ हजारभन्दा बढी बिक्री भएको बीवाईडीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?