विपिन जोशीको शव नेपाल ल्याउनुअघि इजरायलमा श्रद्धाञ्जली सभा

लोकपथ
4.1k
Shares

काठमाडौं । हमासद्वारा इजरायलबाट अपहरणमा परी मारिएका कञ्चनपुरका विपिन जोशीको शव नेपाल पठाउनुअघि इजरायलमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।

इजरायली विदेश मन्त्रालयको घोषणाअनुसार, शव नेपाल पठाउनुअघि विमानस्थलमै विशेष श्रद्धाञ्जली सभा आयोजना गरिएको हो ।

इजरायलको राजधानी तेल अवीवस्थित खटिभा ८ स्मारक नजिक बेनगुरिएन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा इजरायलमा रहेका नेपालीहरू भेला भएका थिए ।

जोशीको शव राखिएको कफिनमा नेपाली झण्डा ओढाइएको थियो ।

श्रद्धाञ्जलीका क्रममा उपस्थित नेपालीहरू भावविह्वल बनेका थिए । उनीहरूले पुष्पगुच्छा र खादा अर्पण गरी स्वर्गीय जोशीप्रति श्रद्धाञ्जली व्यक्त गरे। कार्यक्रममा इजरायली प्रशासनका अधिकारीहरू र स्थानीय नागरिकहरूको पनि उपस्थिति रहेको थियो ।

जोशीको शव भोलि सोमबार दिउँसो नेपाल ल्याइने तयारी भएको छ । फ्लाई दुबईको विमानमार्फत काठमाडौं ल्याउन लागिएका उनको शव भोलि दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ ।

विपिन जोशीलाई हमासले गत वर्ष इजरायल–हमास युद्धको प्रारम्भिक चरणमा अपहरण गरेको थियो। लामो समय बेपत्ता रहेपछि हालै मात्र उनको मृत्यु पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?