काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले कुनै पनि प्रकारको राजनीतिक दबाब र व्यक्तिगत स्वार्थबाट टाढा रहेर कानुनको शासन कायम गर्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन् ।
सोमबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले इमानदारी, अनुशासन र नैतिकतालाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका हुन् ।
करिब १६ महिना लामो कठोर तालिम पूरा गरी कार्यक्षेत्रमा प्रवेश गर्न लागेका प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै उनले पेशागत मर्यादा कायम राख्न र निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए ।
प्रधानमन्त्री शाहले प्रहरी सङ्गठनको छवि उच्च राख्न इमानदारी र अनुशासन महत्वपूर्ण हुने बताए । सङ्गठनको प्रोटोकलविपरीत व्यक्तिगत स्वार्थ तथा अनुचित प्रभावमा नपरी निर्भीकताका साथ काम गर्न उनले प्रहरी अधिकृतहरूलाई सचेत गराए ।
उनले नागरिकको जिउधनको रक्षा, शान्ति सुरक्षा कायम र अपराध अनुसन्धान नेपाल प्रहरीको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै यसमा कुनै पनि प्रकारको सम्झौता नगर्न आग्रह गरे ।
बदलिँदो अपराधको स्वरूपलाई ध्यानमा राख्दै अनुसन्धानलाई निष्पक्ष, वैज्ञानिक र प्रमाणमुखी बनाउन सूचना प्रविधिको उचित प्रयोग आवश्यक रहेको प्रधानमन्त्री शाहको भनाइ थियो । प्रहरी सङ्गठनलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको पनि उनले स्पष्ट पारे ।
प्रधानमन्त्री शाहले भने, ‘यस तालिमबाट प्रहरी निरीक्षकको जिम्मेवारी निर्वाह गर्न आवश्यक ज्ञान, सीप र क्षमता हासिल गर्नुभएको छ भन्ने विश्वास लिएको छु । अब प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै नैतिकता, निष्ठा, इमानदारी, अनुशासन र जवाफदेहितालाई आफ्नो कार्यसम्पादनको आधार बनाउनुहुनेछ भन्ने अपेक्षा गर्दछु ।’
उनले संविधान, प्रचलित कानुन र नियमको पालना गर्दै कुनै पनि अनुचित दबाब वा प्रभावमा नपरी निष्पक्ष रूपमा कर्तव्य निर्वाह गर्न पनि आग्रह गरे ।
कार्यक्रममा प्रशिक्षार्थीका अभिभावक तथा प्रहरी नेतृत्वको उपस्थिति थियो । तालिम पूरा गरेका प्रहरी अधिकृतहरू अब देशका विभिन्न भागमा खटिएर प्रहरी सेवामा योगदान पुर्याउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया