बाढी प्रभावितलाई सामसङको राहत, बिग्रिएका उपकरण मर्मतमा १०० प्रतिशतसम्म छुट

लोकपथ
7
Shares

काठमाडौं । सामसङ नेपालले बाढीबाट प्रभावित परिवारलाई राहत दिन विशेष मर्मत सेवा अभियान सञ्चालन गरेको छ ।

अभियानअन्तर्गत बाढीका कारण बिग्रिएका छनोटमा परेका सामसङका मोबाइल फोन, ट्याब्लेट र घरायसी विद्युतीय उपकरण मर्मत गर्दा वा नयाँ लिँदा १०० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार बाढीबाट बिग्रिएका उपकरण मर्मत गर्न वा नयाँ किन्न लाग्ने खर्च कम गरी प्रभावित परिवारलाई राहत दिन अभियान सञ्चालन गरिएको हो । यसले दैनिक जीवनमा आवश्यक उपकरण पुनः प्रयोग गर्न सहयोग पुग्ने कम्पनीको अपेक्षा छ ।

अभियानअन्तर्गत चितवनको नारायणघाट सर्भिस सेन्टर र काठमाडौंको पाकोस्थित ताम्राकार सर्भिस सेन्टरबाट सेवा लिन सकिनेछ । घरायसी विद्युतीय उपकरणको मर्मतका लागि आवश्यकताअनुसार कम्पनीले घरमै पुगेर सेवा दिने व्यवस्था गरेको छ ।

नेपाल सरकारले विपद् सङ्कटग्रस्त घोषणा गरेका १५ स्थानीय तहका बाढी प्रभावित क्षेत्र र आसपासका जिल्लालाई लक्षित गरी अभियान सञ्चालन गरिएको हो । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा र तनहुँलगायत क्षेत्रका प्रभावित ग्राहकले यो सेवा लिन सक्नेछन् ।

कम्पनीले उपकरणको वारेन्टी अवधि र उमेरका आधारमा छुटको व्यवस्था गरेको छ । वारेन्टी अवधि बाँकी रहेका योग्य मोबाइल फोन, ट्याब्लेट तथा घरायसी उपकरण मर्मत गर्न वा नयाँ फेर्न १०० प्रतिशतसम्म छुट पाइनेछ ।

त्यस्तै, एकदेखि दुई वर्ष पुराना उपकरणमा ८० प्रतिशत र दुईदेखि चार वर्ष पुराना मोबाइल फोन तथा ट्याब्लेटमा ७० प्रतिशतसम्म छुट दिइनेछ । घरायसी उपकरणतर्फ दुईदेखि पाँच वर्ष वा सोभन्दा पुराना योग्य उपकरणमा ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

मर्मत गर्दा आवश्यक पार्टपुर्जा, मर्मत खर्च र ढुवानी शुल्क जोड्दा उपकरणको सिफारिस गरिएको खुद्रा मूल्यको ८० प्रतिशतभन्दा बढी खर्च लाग्ने अवस्था भएमा मर्मतको सट्टा नयाँ उपकरण उपलब्ध गराउने विषयमा पनि विचार गर्न सकिने कम्पनीले जनाएको छ ।

सामसङ नेपालको यो विशेष मर्मत सेवा अभियान सन् २०२६ अक्टोबर २ देखि नोभेम्बर २ सम्म सञ्चालन हुनेछ । यस अवधिमा योग्य स्मार्टफोन र ट्याब्लेट भएका ग्राहकले तोकिएका सेवा केन्द्रमा उपकरण लगेर जाँच तथा मर्मत सेवा लिन सक्नेछन् ।

घरायसी उपकरणका लागि भने घरमै पुगेर मर्मत सेवा उपलब्ध गराइनेछ । बाढीबाट बिग्रिएका उपकरणको अवस्था र आफूले पाउने छुटबारे थप जानकारी लिन ग्राहकले तोकिएका सेवा केन्द्रमा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले यस अभियानबाट बाढी प्रभावित परिवारलाई बिग्रिएका उपकरण पुनः प्रयोगमा ल्याउन र विपद्पछिको पुनःस्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?