पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउन आदेश

लोकपथ
1k
Shares

काठमाडौं । सुन तस्करी प्रकरणका पक्राउ परेका माओवादी नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश आएको छ ।

बुधबार जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हुन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले महरालाई आइतबार पक्राउ गरेको थियो । ०७९ साल पुसमा भेपभित्र सुन लुकाएर ल्याइ तस्करी गरेको आरोपमा महरा पक्राउ परेका हुन् ।

मंगलबार महराको सबै बयान सकिएको थियो । मंगलबार नै थुनछेक बहस हुने भनिएकोमा बुधबार (आज) मात्रै थुनछेक बहस भएको थियो ।

आज जिल्ला अदालत काठमाडौंले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ र ८० बमोजिम थुनछेक आदेशपछि महरालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

अदालतमा पेस भएको प्रारम्भिक प्रमाण र अनुसन्धान प्रतिवेदनअनुसार महराको चिनियाँ व्यापारी दावजिन वाङसँग निरन्तर सम्पर्क र पारिवारिक तथा व्यावसायिक सम्बन्ध रहेको देखिएको छ । दुवैबीचको मिलेमतोमा इ–सिगरेट (भेप) मार्फत सुनको तस्करी गरिएको जिकिर गरिएको छ ।

यता महरासँगै उनका छोरा रेशम भनिने (राहुल) महरा र बुहारी विमला महराको मोबाइल नम्बरबाट समेत दावजिन वाङसँग पटक(पटक कुराकानी भएको भेटिएको छ । महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख अरुण पोखरेललाई फोन गरी जफत गरिएका सामानबारे भनसुन गरेको पनि प्रमाणित भएको अदालतको आदेशमा उल्लेख गरिएको छ ।

भन्सार कार्यालयले २०७९ फागुन २१ गते इ–सिगरेट ७३० थान जफत गरेको थियो, जसको न्यूनतम मूल्य पाँच लाख ११ हजार रुपैयाँ तोकिएको थियो । तर उक्त इ–सिगरेटको आवरणमा करिब ९।५ किलो सुन लुकाइएको पाइएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?