काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले फागुन २१ गतेका लागि तोकिएको निर्वाचन हालको अवस्थामै सम्भव नदेखिने बताएका छन् ।
मधेस प्रदेश अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष यादवले अन्तरिम सरकारले निर्वाचन गराउने विश्वास दिलाउन नसकेको आरोप लगाए । उनले भने, ‘निर्वाचनका लागि ६ महिनाको समय दिइएको छ, तर एक महिना बितिसक्दा पनि सरकारले कुनै काम गरेको छैन ।’
यादवले राजनीतिक दलबिनाको निर्वाचन सम्भव नहुने जिकिर गर्दै तत्कालीन राजा ज्ञानेन्द्रले गरेको चुनाव जस्तै वर्तमान सरकारको तयारी पनि अर्थहीन हुने चेतावनी दिए । ‘राजनीतिक दलसँग छलफलबिनाको चुनाव परिणाममुखी हुँदैन,‘उनले स्पष्ट पारे ।
उनका अनुसार सरकारले तत्काल राजनीतिक दलहरूसँग छलफल र सहमति खोज्नु जरुरी छ । साथै उनले सबैले स्वीकार गर्नसक्ने संविधानका लागि पुनर्लेखन वा संशोधन आवश्यक रहेको पनि औँल्याए ।
संविधानअनुकूल नभएको सरकारबाट संसद् विघटन पनि वैधानिक नहुने बताउँदै उनले भने, ‘आवश्यकताको सिद्धान्तमा बनेको सरकारले चुनाव गराउनै पर्छ, तर अहिलेको व्यवहारले त्यो सम्भावना कमजोर देखिन्छ ।’
अध्यक्ष यादवले संघीयता खारेजीको माग उठाउँदै भइरहेको षड्यन्त्रप्रति सचेत रहन आग्रह गरे । उनले संघीय गणतान्त्रिक व्यवस्थामाथि खेल भए जसपा, नेपाल दृढतापूर्वक प्रतिवाद गर्ने चेतावनी दिए ।
उनले जेनजी आन्दोलनलाई विगत ३५-३६ वर्षमा कांग्रेस र कम्युनिष्ट दलको असफल शासनको परिणाम बताउँदै दुवै दलले देशमा राजनीतिक अस्थिरता र सत्ताको खेल मात्र चलाएको आरोप लगाए ।
यादवले भने, ‘बारम्बार प्रधानमन्त्री बनेका नेताहरूले देशलाई बलियो बनाउने साटो बर्बाद बनाएका छन् । अब सबैले मिलेर संविधान र संघीय गणतन्त्रलाई मजबुत बनाउने दिशामा सोच्न जरुरी छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया