काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले करारमा रहेका सरकारी कर्मचारीलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन सरकारले गृहकार्य थालेको बताएका छन् ।
आइतबार काठमाडौंको सञ्चारग्रामस्थित न्यूनतम पारिश्रमिक निर्धारण समितिको कार्यालयमा अनुगमन गर्ने क्रममा मन्त्री खरेलले करारमा रहेका कर्मचारीहरूको सामाजिक सुरक्षा सुनिश्चित गर्न तत्काल कदम चालिने प्रतिबद्धता व्यक्त गरे ।
सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री खरेलले भने, ‘सरकारी सेवामा रहेका करार कर्मचारीहरूको पेन्सन लगायतको सुविधा छैन। अन्य कर्मचारीहरू जस्तै उनीहरूलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनु आवश्यक छ । यो विषयमा म सचिवज्यूसँग दुई हप्ताअघि नै छलफल गरिसकेको छु र अब व्यवहारिक रूपमै अगाडि बढाइरहेका छौँ ।’
मन्त्री खरेलले सामाजिक सुरक्षा कोषको दायरामा पत्रकार र सञ्चारकर्मीहरू समेत समेट्ने काम सरकारका प्राथमिकतामा रहेको बताए । उनले यो कदम सुरु गर्न कम्तीमा एउटा फाउण्डेशन वा बेसलाईन बनाइने योजना रहेको जानकारी दिए ।
उनले थपे, ‘अनौपचारिक क्षेत्रलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्ने काममा सरकारले जोड दिएको छ। यसले सबै श्रमिकलाई न्यूनतम सुरक्षा सुनिश्चित गर्नेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया