काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशम्शेर राणाले पार्टीभित्र असन्तुष्ट समूहको बैठक बोलाएका छन् । बैठक आज (आइतबार) दिउँसो १२:३० बजे सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा बस्नेछ ।
राणानिकट एक केन्द्रीय सदस्यका अनुसार बैठकमा चार वटा प्रमुख एजेन्डा छन् । तीमध्ये मुख्य एजेन्डा पार्टीको नियमित महाधिवेशन समयमै गर्ने वा आवश्यक परे विशेष महाधिवेशन माग गर्ने रहनेछ ।
राप्रपाको विधानअनुसार आगामी मंसिरभित्र नियमित महाधिवेशन सम्पन्न हुनुपर्छ। तर, तयारी नदेखिएको भन्दै असन्तुष्ट पक्ष सक्रिय भएको हो ।
बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले पदमुक्त गरेका नेताहरूको पुनर्बहाली विषयमा पनि छलफल हुने जनाइएको छ । केही समयअघि लिङ्देनले अनुशासन समितिका संयोजक नवराज सुवेदीलाई हटाएर रोशन कार्कीलाई नियुक्त गरेका थिए । त्यससँगै उपाध्यक्ष मुकुन्दश्याम गिरी, प्रवक्ता सगुन लावती, केन्द्रीय सदस्य धनसुर शाहीलगायतलाई पनि पदबाट हटाइएको थियो ।
यी निर्णयपछि पार्टीभित्र विवाद बढ्दै गएको छ र अहिले मुद्दा निर्वाचन आयोगसम्म पुगेको छ ।
राणाले बोलाएको बैठकको अर्को उद्देश्य केन्द्रीय समिति बैठक बोलाउन अध्यक्ष लिङ्देनमाथि दबाब दिनु रहेको बताइएको छ । विधानअनुसार तीन महिनामा एक पटक बस्नुपर्ने केन्द्रीय समिति बैठक माघयता नबसेको कारण पनि असन्तुष्टि बढेको हो ।
त्यसैगरी, पछिल्लो समय ‘जेनजी आन्दोलन’ पछि पार्टी निष्क्रिय बनेको विषयमा पनि बैठकमा समीक्षा गरिनेछ ।
हाल पार्टीभित्र नेताहरूबिच निर्णय प्रक्रियामा असन्तुलन र कारबाहीका कारण दुई समूहमा विभाजन देखिएको छ । दुवै पक्षले अलग-अलग बैठक र कार्यक्रम आयोजना गर्न थालेका छन्, जसले राप्रपाको आन्तरिक विवाद झन् तीव्र बनेको संकेत दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया