काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्रबीच एकताको गृहकार्य भइरहेका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल एकताको विपक्षमा उभिएका छन् । उनले कसैसँग पनि पार्टी एकीकरण गर्न नहुने धारणा अघि सारेका छन् ।
जेनजी आन्दोलनकारीबाट जिउँदै जलाइएकी श्रीमती रविलक्ष्मी चित्रकारको उपचारका लागि भारतको राजधानी नयाँदिल्लीमा रहेका खनालले आइतबार वक्तव्य जारी गर्दै पार्टी एकताको कुरालाई कुबेलाका बाजासमेत भनेका छन् । उनले यस्तो प्रयासलाई भड्खालोमा जाने बाटो भन्दै पार्टी बलियो बनाउन आह्वान गरेका छन् ।
खनालले पार्टीको सचिवालय बैठकमा पठाएको लिखित धारणामा लेखिएको छ, ‘कमरेडहरू, यतिबेला हाम्रो पार्टीको निम्ति कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन र छैन । हामी कोही पनि गलत बाटो हिँड्दै भड्खालोमा पर्ने र अरूलाई पार्ने दिशामा नलागौँ ।’
उनले पत्रमा सबैभन्दा पहिले एमालेबाट अलग भएर एकीकृत समाजवादी पार्टी गठन गर्नुको कारणबारे निर्मम समीक्षा गर्नुपर्नेमा जोड दिएका छन् ।
खनालले भनेका छन्, ‘सबभन्दा पहिले हाम्रो ४ वर्षे विद्रोहको यात्राको निर्मम समीक्षा गरौँ । ठिक बेठिक के गर्यौँ, दूध र पानी छुट्याऔँ । हामीले नवौँ राष्ट्रिय महाअधिवेशनदेखि नै उठाएको युवा आवाज र कार्यविधिको कुरालाई ध्यान दिऔँ ।’
खनालले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित वामपन्थी दलहरू दक्षिणपन्थीको बाटोमा लागेको आरोपसमेत लगाएका छन् । त्यसैले उनले प्रत्येक पार्टीमा पुनर्गठन र रूपान्तरण अनिवार्य भएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘वामपन्थी दलले नै आम जनता र राष्ट्रलाई सही मार्ग देखाउनुपर्ने हो । तर दक्षिणपन्थीहरूका पछि लागेर हाम्रो पार्टीको नेतृत्वसहित अन्य वामपन्थी नेतृत्वहरूसमेतले मुलुकको चौतर्फी सामाजिक–आर्थिक रूपान्तरण र राष्ट्रियतालाई सुदृढ गर्ने कार्यभारलाई छोडेर यथास्थितिवादको मार्गमा हिँडेपछि र विदेशीहरूसँग अपमानपूर्ण सन्धि र सम्झौता गर्न थालेपछि मुलुक भयावह संकटमा जानु र विदेशीहरूको क्रिडास्थल बन्नु अनिवार्य नै थियो । अहिले त्यही नै भइरहेको छ ।’
उनले भनेका छन्, ‘सकेसम्म सबै क्रान्तिकारी कम्युनिस्ट, वामपन्थी, देशभक्त र प्रगतिशील शक्तिहरूलाई गोलबन्द गरौँ । एउटा बृहत् राष्ट्रिय मोर्चाको निर्माण गरौँ र प्रतिनिधि सभाको निर्वाचनको तयारीमा बृहत् योजनाका साथ अघि बढौँ । मेरो विचारमा आजको सही मार्ग यही हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया