मखमली फूलको मालाको मूल्य निर्धारण गर्न किसानको माग, उचित मूल्य नपाएको गुनासो

लोकपथ
119
Shares

काठमाडौं । नेपालीहरूको दोस्रो ठुलो पर्व अर्थात् फूलहरूको पर्व तिहार नजिकिँदै आएको छ । तिहारमा मखमली, सयपत्री र गोदावरी फूलको मालाको अधिक प्रयोग हुने गर्दछ । भक्तपुरको सूर्य विनायक नगरपालिका–७ गुण्डुका अधिकांश किसान यति बेला मखमलीको फूल टिपेर माला उन्नमा व्यस्त देखिन्छन् ।

तिहारमा मखमली फूलको मालाको माग उच्च हुने गरे पनि किसानले भने उचित मूल्य पाउन सकेका छैनन् । गुण्डुका अधिकांश किसानले मखमली फूलको खेती गरेका छन् । किसान सहदेव बस्नेतका अनुसार पछिल्ला वर्षमा परिश्रमअनुसार मूल्य नपाएको गुनासो बढ्दो छ । उनले भने, ‘दस वर्षअघि प्रतिगोटा माला ३३ रुपैयाँमा विक्री हुन्थ्यो, अहिले १८ देखि २३ रुपैयाँमै सीमित छ ।’

किसान गंगा थापाले पनि बस्नेतकै जस्तै गुनासो व्यक्त गरिन् । २० वर्षदेखि मखमली खेती गर्दै आएकी उनले मालामा खासै नाफा कमाउन नसकेको बताइन् । उनले सरकारले दसैँमा खसी–बोकाको भाउ निर्धारण गरेजस्तै तिहारमा मालाको भाउ पनि तोक्नुपर्ने माग गरिन् । ‘हामीले मागअनुसार फूल उत्पादन गरेका छौँ, तर मूल्य नपाउँदा निराश भएका छौँ,’उनले भनिन् । उनले मखमली फूलको बीउमा पनि समस्या रहेको बताइन् ‘किराले काट्ने, पानी बढी परेमा नउम्रिने र कुहिने समस्या हुन्छ ।’

किसान निर्मला बस्नेतका अनुसार यस वर्ष मालाको माग गत वर्षको भन्दा बढी छ । उनले अहिलेसम्म १ हजार २ सय माला बेचिसकेकी बताइन् । गत वर्ष उनले २ हजार माला बेचेकी थिइन् । उनका अनुसार यस वर्ष व्यापारीहरू माला लिनका लागि घरमै आउने गरेका छन् ।

राधा थापा र अनिता बस्नेतले पनि मालाको निश्चित मूल्य निर्धारण गर्नुपर्नेमा जोड दिइन् । उनीहरूको भनाइमा, ‘मूल्य दर नहुँदा बिचौलियालाई मात्र फाइदा पुग्छ, किसानले घाटा बेहोर्नुपर्छ ।’

फूल उत्पादक किसानहरूले सरकारले बजार अनुगमन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । उनीहरूको भनाइमा, बिचौलियाका कारण किसानले उचित मूल्य पाउँदैनन् र उपभोक्ताले भने मंहगोमा माला किन्न बाध्य हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?