चितवनमा जापानीज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको संख्या ६ पुग्यो

लोकपथ
126
Shares

काठमाडौं । चितवनमा जापानीज इन्सेफ्लाइटिस को संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा दुई जना भरतपुर महानगरपालिका, एक जना खैरहनी नगरपालिका, दुई जना राप्ती नगरपालिका र एक जना कालिका नगरपालिका बस्ने व्यक्तिहरू रहेका छन् । पछिल्लो घटनामा खैरहनी वडा नम्बर ४ की महिला यस रोगबाट मृत्यु भएकी छन्, कार्यालयका कीट नियन्त्रक राम केसीले जानकारी दिए ।

जिल्लामा हालसम्म १७ जनामा यो रोगको सङ्क्रमण देखिएको छ । संक्रमितमध्ये १० जना महिला र ७ जना पुरुष रहेका छन् । उमेर समूहअनुसार ३ जना १५ वर्ष मुनिका, ५ जना १५–६० वर्षका, र ९ जना ६० वर्षमाथिका रहेका छन् । संक्रमितमध्ये १५ जनाले खोप नलगाएको र दुई जनाको खोप स्थिति अस्पष्ट रहेको बताइएको छ ।

संक्रमितमध्ये ७ जना भरतपुर महानगरपालिका भित्रका रहेका छन् । मृत्यु हुनेमा ८९, ८१, ७०, ७०, ३९ र ४२ वर्षका व्यक्तिहरू रहेका छन् ।

जापानीज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य रोग हो । यो लामखुट्टे प्रायः घर बाहिर बस्न रुचाउँछ र साँझ तथा बिहान बढी सक्रिय हुन्छ । यसले सुँगुर, बङ्गुर, हाँसजस्ता पशुपक्षीलाई पनि टोक्दा संक्रमण फैलाउँछ । धानखेतीमा समेत यो लामखुट्टे अण्डा पारेर लार्भा उत्पन्न गर्ने गर्दछ, कार्यालय प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?