काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले बारका जिल्ला न्यायाधीश भोला ढकाललाई न्याय परिषदमा तानेका छन् । न्यायाधीश ढकालले सम्पत्ति शुद्धीकरणको मुद्दामा आदेश गर्दा कैफियत गरेको उजुरी परेपछि उनलाई परिषद्मा काज बोलाइएको हो ।
मंगलबार अदालत खुले लगत्तै प्रधानन्यायाधीश राउतले ढकाललाई बारमा कामकाज गर्न रोक लगाउने गरी छानबिनका लागि परिषदमा तानेका हुन् ।
यसअघि बारा जिल्ला अदालत बार एसोसिएसनले ढकालको आदेशमा गम्भीर असहमति जनाउँदै उनको इजलास बहिष्कार गर्ने निर्णय गरेको थियो ।
भएको के थियो ?
बारा जिल्ला अदालतका प्रमुख न्यायाधीश भोला ढकालले जेन जी आन्दोलन लगत्तै अदालतमा नियमित सुनुवाइ नै नभएको अवस्थामा फरार व्यक्ति उपस्थित भएपछि धरौटीमा रिहा गर्न आदेश दिएका थिए ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मौकामा फरार रहेका भारतीय नागरिक अशोक कुमार सिन्हा र नेपालको समेत नागरिक रहेकी उनकी छोरी निवेदिका सिन्हालाई धरौटी माग गरी थुनामुक्त गर्ने आदेश दिएका थिए ।
तर अदालतमा उपस्थित गराइएका व्यक्तिहरू अशोक कुमार सिन्हा र निवेदिका सिन्हा नभई डमी व्यक्ति खडा गरिएको र उनीहरूको आधार कार्डहरू मात्रै हेरेर उनीहरूलाई धरौटीमा छाडिएको आरोप छ । साथै प्रतिवादीहरूसँग मोटो रकम लिएर धरौटीमा छाड्न आदेश दिएको आरोप लागेको थियो ।
न्यायाधीश ढकालले आफ्नै घरबेटीमार्फत कागजी उपस्थिति देखाएर अभियुक्तलाई थुनामा नराख्ने गरी आदेश गरेको आरोप लागेको छ ।
कानुनमा एक वर्षभन्दा बढी कैद सजाय हुनसक्ने विदेशी नागरिकलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने व्यवस्था छ ।
दसैँ बिदाको मुखमा कम चहलपहल भएको मौकामा ‘सेटिङ’ गरेर धरौटी माग गरिएको र उक्त व्यवस्था मिलाउन बिचौलियाका रूपमा न्यायाधीशकै घरधनी दीपक बनियाँले भूमिका खेलेको आरोप लागेको छ । साथै यसअघिका न्यायाधीशहरुलाई समेत धरौटीमा छाड्ने आदेश गरेमा ५० लाख रुपैयाँसम्म दिने भनी प्रलोभन दिइएकाले पनि यो आदेशमा पनि आर्थिक कारोबार भएको आरोप लगाइएको थियो ।
बारले आफ्नो विज्ञप्तिमार्फत न्यायाधीश ढकालले कानुन विपरीतको आदेश गरेको कारण न्यायालयप्रतिकै आस्थामा गम्भीर संकट आइपरेकाले उनको इजलास नै बहिष्कार गर्ने बताएको थियो ।
बारको विज्ञप्तिमा भनिएको छ,
‘नेपाल बार एसोसिएसन विधिको शासन, मानव अधिकारको संरक्षण, स्वतन्त्र न्यायपालिका तथा निष्पक्षताप्रति समर्पित संस्था हो । बारा जिल्ला अदालतका मा. न्या. श्री भोलानाथ ढकालज्यूले मिति २०८२।०६।०५ गतेका दिन सम्पत्ति शुद्धीकरण मुद्दा थान २ र राजश्व छली मुद्दा थान १ समेत ३ थान मुद्दामा फरार रहेका भारतीय नागरिक प्रतिवादी अशोक कुमार सिन्हालाई कानून विपरीत उनाऊ व्यक्तिलाई हाजिर गराएको, धरौटीमा छाडेको, उक्त आदेश विचौलियको सेटिङमा रकम लेनदेन गरी भएको भनी विभिन्न अनलाइन पत्र पत्रिकामा प्रकाशित समाचारप्रति यस बार एसोसिएसनको गम्भीर ध्यान आकर्षण भएको छ । माननीय न्यायाधीश भोलानाथ ढकाल ज्यूले बिचौलिया (घरबेटीको सेटिङ) को चाँजोपाँजोमा कानून विपरीत आदेश भएकोले माननीय न्यायाधीश ज्यूको उक्त कार्यले न्यायपालिकाप्रतिको जनआस्था, जनविश्वास, कानूनी शासनमा प्रत्यक्ष रूपमा असर परेको महसुस हुँदा यस बारा जिल्ला अदालतका मा. न्या. श्री भोलानाथ ढकाल ज्यूले उक्त कार्य क कसको सेटिङमा कानून विपरीतको उक्त आदेश गर्नु भएको हो ? सो सम्बन्धमा सूक्ष्म तवरले अनुसन्धान गरी माननीय जिल्ला न्यायाधीश ज्यू, कर्मचारी तथा बिचौलिया समेतका व्यक्तिलाई कानून बमोजिम कारबाही गर्नका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने भनी मिति २०८२।०६।१५ मा बारा जिल्ला अदालत बार एसोसिएसन कलैयाबाट निर्णय भएकोले उपर्युक्तअनुसार कानूनी कारबाही गरी अदालतप्रतिको जनविश्वास कायम गर्न गराउन यो बार एसोसिएसन जोडदार माग गर्दछ । साथै सम्बन्धित निकाय न्याय परिषद् समेतबाट उक्त विषयमा ठोस निर्णय नआएसम्म यस बार एसोसिएसनले माननीय न्यायाधीश भोलानाथ ढकालको बेन्च बहिष्कार गर्ने निर्णय समेत भएको ब्यहोरा सरोकारवालाको जानकारीका लागि अनुरोध गरिन्छ ।’
जिल्ला बारले सो निर्णयको वोद्यार्थ, प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, सर्वोच्च अदालत र गृह मन्त्रालयलाई समेत दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया