धादिङ । जेनजी प्रदर्शनपछि देशभरका कारागारबाट भागेका १३७ कैदी बन्दीलाई धादिङ प्रहरीले पक्राउ गरेको छ । आइतबार र सोमबार गरी थप ३ जनालाई पक्राउ गरेपछि पक्राउ पर्नेको सङ्ख्या १३७ पुगेको हो ।
धादिङ प्रहरीले सोमबार मात्रै कारागार कार्यालय दार्चुलाबाट भदौ २६ गते भागेका ३६ वर्षीय केशव थापा मगर, भिमफेदी कारागारबाट भागेका ३८ वर्षीय राजकुमार तामाङ र सिन्धुली कारागारबाट भागेका २७ वर्षीय विश्व मिजारलाई पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये त्रिपुरासुन्दरी ७ धादिङका केशव थापा मगर ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका कैदी हुन् । उनलाई कसुरमा ६ वर्षको कैद र ६० हजार रुपैयाँ जरिवाना तोकिएको थियो । जेलबाट भागेका थापा मगरलाई सोमबार पक्राउ गरिएको हो ।
त्यसै गरी सोमबार नै पक्राउ परेका गल्छी गाउँपालिका ५ का ३८ वर्षीय राजकुमार तामाङ कर्तव्य ज्यान मुद्दाका दोषी हुन् । उनलाई अदालतले जन्मकैद अर्थात् २० वर्षको कैद सजाय तोकेको थियो ।
कारागार कार्यालय भिमफेदीमा कैद भुक्तान गरिरहेका उनी भदौ २६ गते जेलमा आगजनी गरेर भागेका थिए । त्यसपछि लुकिछिपी बस्दै आएका उनलाई सोमबार धादिङ प्रहरीले नियन्त्रणमा लिएको हो ।
त्यसै गरी धुनिवेशी गाउँपालिका ८ का २७ वर्षीय विश्व मिजार पनि सिन्धुली कारागारबाट भदौ २४ गते भागेका कैदी हुन् । उनीमाथि लागूपदार्थ खैरो हिरोइनको ओसारपसारको कसुरमा ७ वर्षको कैद सजाय सुनाएको थियो । कैद भुक्तान गरिरहेकै समयमा उनी जेल तोडेर भागेपछि सिन्धुली प्रहरीले धादिङ प्रहरीसँग समन्वय गरी मिजारलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी भेषराज रिजालका अनुसार देशका विभिन्न कारागारबाट भागेका कैदी बन्दीलाई पक्राउ गर्ने क्रम निरन्तर चलेको छ । घटनापछि हालसम्मको अवधिमा १३७ जना फरार कैदी बन्दीलाई पक्राउ गरी सम्बन्धित कारागार कार्यालयमा पठाइएको छ ।
एसपी रिजालले कारागारबाट भागेका कैदी बन्दी समाजका लागि पनि खतरा हुन सक्ने भन्दै आफ्नो टोल छिमेकमा कुनै फरार कैदी बन्दी आएको भए तत्काल प्रहरीलाई खबर गरिदिन पनि आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया