काठमाडौं । हिन्दु र मुस्लिम धर्मावलम्बीको सम्भावित झडप रोक्न बाँकेको तीन स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज, नरैनापुर र डुडुवा गाउँपालिकामा निषेधाज्ञा जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीबाट शनिवार साँझ जारी गरिएको निषेधाज्ञामा ५ जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ ।
गत असोज १७ गते हिन्दु धर्मावलम्बीहरूको महान् चाड विजयादशमीको पावन अवसरमा जिल्लाका विभिन्न स्थानमा स्थापना गरिएका दुर्गाको मूर्तिहरू विसर्जन गर्ने क्रममा हिन्दु र मुस्लिम धर्मावलम्बीका बिचमा झडप भएको थियो । उक्त दिन हिन्दु र मुस्लिम धर्मावलम्बी समुदायकाबिच विभिन्न स्थानमा झडप भएको थियो ।
प्रहरीले ठूलो क्षति हुन नदिई उक्त दिन दुर्गाको मूर्ति विसर्जन गर्ने व्यवस्था मिलाएकामा शनिवार दिउँसो करिब १२ बजेपछि डुडुवा गाउँपालिका ६ हिरमिनियाका केही घुम्ती पसलमा आगजनी भएको थियो ।
सोही गाउँपालिकाकै सुब्बापुरवा भन्ने स्थानमा पनि दुई सम्प्रदायबिच आपसी झडप भएको कारण प्रशासनले शनिवार साँझ ७ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको थियो ।

प्रशासनले यस्तो परिस्थितिबाट सिर्जित सुरक्षा चुनौतीलाई मध्यनजर राख्दै आपराधिक मनसायले भेला जम्मा हुने, धार्मिक-सामाजिक सद्भावमा खलल पारी हुलदंगा तथा अशान्ति फैलिन सक्ने भन्दै निषेधाज्ञा जारी गरेको हो ।
प्रशासनको सूचनामा अर्को व्यवस्था नभएसम्मका लागि निषेधाज्ञा जारी राखेको भन्दै कुनै पनि प्रकारको भेला, जुलुस प्रदर्शन, सभा सम्मेलन तथा ५ जना भन्दा बढी व्यक्ति भेला नहुन स्थानीय प्रशासन ऐनको अधिकार प्रयोग गर्दै निषेधाज्ञा जारी गरेको हो ।
यदि सूचनालाई अवज्ञा गर्दै ५ जनाभन्दा बढी भेला भएमा वा आवतजावत गरेमा पक्राउ गरी कानून बमोजिम कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।
प्रशासनले निम्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
निषेधाज्ञा लागू हुने मिति र समय : मिति २०८२/०६/१८ गते साँझ ७ः०० बजेदेखि अर्को आदेश वा सूचना जारी नभएसम्मका लागि ।
निषेधित क्षेत्रहरू :
– डुडुवा गाउँपालिका वडा नम्बर ६ को सम्पूर्ण क्षेत्र
– नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ को सम्पूर्ण क्षेत्र
– नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ को सुइया पिप्रहवा
– नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २३ को भजिपुरवा, जंगलिपुरवा, लोहरनपुरवा
– नरैनापुर गाउँपालिकाको वडा नम्बर ५ को सम्पूर्ण क्षेत्र
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया