रसुवामा बेपत्ता भएका भक्तपुरका चारमध्ये तीन जना एकै परिवारका

लोकपथ
1.7k
Shares

काठमाडौं । लाङटाङ घुम्न जाने क्रममा रसुवाको गोसाईंकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाएर बेपत्ता भएका भक्तपुरका चारमध्ये तीन जना एउटै परिवारको भएको खुल्न आएको छ ।

गोसाईंकुण्ड–५ स्थित ब्याम्बो होटलमा बास बसेर लाङटाङतर्फ जाने क्रममा शनिबार चार जनालाई बेरिङ खोल्साले बगाएर बेपत्ता बनाएको थियो । बेपत्ता हुनेहरूमा भक्तपुर नगरपालिका–१० क्वाठण्डौंँ बस्ने २३ वर्षीय रवि श्रेष्ठ, सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने २३ वर्षीया संस्कृति श्रेष्ठ, २१ वर्षीय किशन श्रेष्ठ र २६ वर्षीया सनिता श्रेष्ठ रहेका छन् । 

संस्कृति, किशन र सनिता एउटै परिवारका रहेको सूर्यविनायक नगरपालिका–४ का वडाध्यक्ष लच्छुराम न्यौपानेले जानकारी दिए । उनीहरू रामेछापबाट बसाइसराइ गरेर दधिकोटमा बसोबास गर्दै आएको न्यौपानेले बताए । उनीहरूको अवस्था अझै अज्ञात रहेको छ । उनीहरूको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी प्रहरी निरीक्षक राजु शाहले जानकारी दिए । 

बेपत्ताहरूको खोजीका लागि प्रहरी र नेपाली सेनाको टोली नुवाकोटको सिमानासम्म परिचालन गरिएको र नुवाकोट प्रहरीलाई पनि घटनाबारे जानकारी गराएर खोजी कार्यका लागि अनुरोध गरिएको उनले बताए । 

यसअघि संस्कृति, किशन र सनिता मध्यपुरथिमिमा बस्ने भनी समाचार सार्वजनिक भएको थियो । लाङटाङ जाने क्रममा मध्यपुरथिमि शंखधरचोकबाट गाडी चढेकाले रोज कर्माचार्यले उनीहरू थिमिको भएको प्रहरीलाई जानकारी गराएका कारण उनीहरू थिमिको भएको समाचार सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?