राज्यका सबै स्रोत प्रयोग गरेर नागरिकको सुरक्षा सुनिश्चित गर्छौँ : प्रधानमन्त्री कार्की

लोकपथ
294
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अविरल वर्षाबाट उत्पन्न विपद्‌का समयमा नागरिकलाई जोखिमबाट बचाउन राज्यका सबै स्रोत र संयन्त्र प्रयोग गरिने बताएकी छन् ।

देशवासीका नाममा आज जारी गरिएको भिडियो सन्देशमार्फत प्रधानमन्त्री कार्कीले असोज १७ गतेदेखि देशभर निरन्तर भइरहेको भारी वर्षाका कारण उद्धार र राहतका लागि सबै सरकारी निकाय परिचालन गरिएको जानकारी दिइन् ।

उनले जल तथा मौसम विज्ञान विभागका अनुसार अझै दुई दिनसम्म वर्षा जारी रहने सम्भावना भएकाले सुरक्षित रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरिन् ।

‘हामी बाढी, पहिरो र कटानको उच्च जोखिममा छौँ । धेरै स्थानमा पहिरोको सम्भावना छ । सरकारी निकाय उच्च मनोबलका साथ २४ सै घण्टा उद्धार र राहत कार्यमा खटिएका छन्,’ उनले भनिन्, ‘जहाँ हुनुहुन्छ त्यहीँ सुरक्षित बस्नुस्, अरुलाई पनि सुरक्षित रहन प्रेरित गर्नुस्, अनावश्यक यात्रा नगर्नुस्, सवारी नचलाउनुस् र सुरक्षालाई सर्वोच्च प्राथमिकता दिनुस् ।’

प्रधानमन्त्री कार्कीले जोखिमका कारण सरकारले आइतबार र सोमबार देशभर सार्वजनिक बिदा दिएको पनि उल्लेख गर्दै, प्रहरी र अन्य निकायले जारी गरेका सूचनाअनुसार मात्र काम गर्न सबैलाई अनुरोध गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?