त्रिभुवन विमानस्थल अपराह्न ३ बजेसम्म बन्द

लोकपथ
728
Shares

काठमाडौं । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको सेवा अपराह्न ३ बजेसम्मका लागि स्थगन गरिएको छ । सबै प्रदेशमा पानी परिरहेको कारण उडान र अवतरणमा समस्या हुने भन्दै आन्तरिक उडानतर्फका सबै सेवा अपराह्न ३ बजेसम्मका लागि स्थगन गरिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विभिन्न आन्तरिक वायुसेवा कम्पनीहरूलाई सूचना पठाएर सुरुमा पौने ११ बजेसम्म उडान स्थगन हुने सूचना पठाएकामा त्यसपछि दुई पटक सूचना जारी गर्दै अहिले अपराह्न ३ बजेसम्मका लागि स्थगनको सूचना जारी गरेको हो ।

विमानस्थलका प्रवक्तासमेत रहेका निर्देशक रिञ्जी शेर्पाका अनुसार अहिले इनरुट मौसम प्रतिकुल रहेको र वर्षासँगै चट्याङसमेत पर्न थालेकाले उडान तथा अवतरण स्थगन गरिएको हो । अहिले उडान गर्ने र अवतरण गर्ने सबै स्थानको मौसम समेत खराब रहेकाले आन्तरिकतर्फका उडान र अवतरण स्थगन गरिएको हो ।

अहिले मध्यम वर्षा भइरहेको कारण सुरुमा पौने ११ बजे, त्यसपछि अपराह्न १ बजेसम्मका लागि उडान स्थगित भएकामा अहिले अपराह्न ३ बजेसम्मका सबै आन्तरिक उडान स्थगन गरिएको हो ।

अहिले अपराह्नपछि भारीदेखि अति भारी वर्षाको समेत सम्भावना रहेकाले त्यसपछि पनि उडान र अवतरण स्थगन हुन सक्ने प्रवक्ता शेर्पाले लोकपथलाई बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान र अवतरण भने नियमितरुपमै सञ्चालन भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?