दसैँको टीका लगाउँदा को कता फर्कने ? यस्तो छ पञ्चांग समितिको निर्णय

लोकपथ
1.4k
Shares

काठमाडौं । आज हिन्दुहरूको महान् चाड विजय दशमीको दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यसै दिनलाई दसैँको विशेष दिनका रूपमा मनाइन्छ ।

यस वर्ष टीकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेट जाँदा रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । यस वर्षको देवी विसर्जनको साइत भने बिहान ९ बजेर २३ मिनेटका लागि तोकिएको छ ।

दसैँको दिन बिहान उठेर घामको झुल्कोमा दुर्गा विसर्जन गरी कलशको जलले अभिषेक गरेर टीका लगाउन मिल्छ । देवी विसर्जन गरेपछि सर्वसाधारण नागरिकले थप कुनै साइत कुर्नु नपर्ने भए पनि राज्य सञ्चालन गर्नेले भने बिहान ११ः५३ मा टीका र जमरा लगाउनु उत्तम हुने समितिले जनाएको छ ।

टीका लगाउँदा पूर्व वा उत्तरतर्फ फर्किनुलाई शुभ मानिन्छ । शास्त्रअनुसार पूर्वलाई ज्ञान, प्रकाश र समृद्धिको प्रतीक मानिएको छ भने उत्तरलाई स्थायित्व र दीर्घायुको प्रतीक मानिन्छ । त्यसैले पुजारी वा जेठाजु/जेठीले टीका लगाइदिँदा पूर्व वा उत्तरमुखी भएर बस्नुपर्ने परम्परा छ ।

नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको टीका र जमरा ग्रहण गर्दा टीका लगाइदिने व्यक्ति पश्चिमतर्फ र लगाइ माग्ने व्यक्ति पूर्व फर्किएर लगाउनुपर्ने जनाएको छ ।

टीका लगाइदिँदा लगाउने र लगाइदिने दुबैलाई दीर्घायु, स्वास्थ्य र धनधान्यको आशीर्वाद प्राप्त हुने विश्वास गरिन्छ । साथै, टीका लगाउँदा ठूलो मान्छेबाट सानोलाई टीका र आशीर्वाद दिने संस्कारले परिवारमा आत्मीयता र स्नेह बढाउँछ भन्ने मान्यता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?