काठमाडौं । साढे दुई वर्षीया आर्यतारा शाक्य जीवित देवी कुमारी बनेकी छन् । आर्यतारा मंगलबार (असोज १४) महाअष्टमीका दिन ऐतिहासिक कुमारी घर काठमाडौंमा औपचारिक रूपमा पूजनीय भएकी हुन् ।
पिता अनन्त शाक्य र आमा प्रतिष्ठा शाक्यको कोखबाट जन्मिएकी आर्यतारा शाक्य समुदायका १६ बहालमध्ये इटुम्बाहलको बहालबाट चयन भएकी हुन् ।
कुमारी प्रथा काठमाडौं उपत्यकाको एक जीवन्त र महत्वपूर्ण सांस्कृतिक परम्परा हो । जहाँ बालिकालाई तलेजु भवानीको प्रतीकका रूपमा पूजा गरिन्छ ।
केही साताअघि शाक्य महाविहार संघले सहरका १५ बहाललाई नयाँ कुमारीका लागि योग्य बालिकाको नाम सिफारिस गर्न भनेको थियो । सिफारिस भएका नामबाट निर्णायक मण्डल, गुठी संस्थान र पञ्चांग निर्णायक समितिले आर्यतारा शाक्यलाई नयाँ कुमारीका रूपमा छनोट गरेका हुन् ।
आर्यतारा हालकी कुमारी तृष्णा शाक्यको उत्तराधिकारी बनेकी हुन् । तृष्णाको कुमारीकाल उनको किशोरावस्थामा प्रवेशसँगै परम्पराअनुसार समाप्त भएको हो । तृष्णा शाक्यले करिब ८ वर्ष जीवित देवीको भूमिका निर्वाह गरेपछि अहिले उनको स्थानमा आर्यतारालाई ल्याइएको हो ।

कुमारीकाल समाप्त भएपछि उनलाई बाजागाजासहित विशेष पूजापाठ गरेर घरसम्म पुर्याइएको थियो । परम्परागत रीतिअनुसार उनको बिदाइ गरिएको हो ।
कुमारीलाई हिन्दु देवी तलेजुको जीवित अवतार मानिन्छ । कुमारीको चयन प्रक्रिया प्राचीन तान्त्रिक विधि र ज्योतिषीय मूल्यांकनमा आधारित हुन्छ । यसमा पञ्चांग समिति, तलेजुका मूल पुजारी, गुठीका प्रतिनिधि र ज्योतिषी संलग्न हुन्छन् । राजकीय कुमारी शाक्य कुलकै हुनुपर्छ र आमाबुवा दुवै जना काठमाडौंका स्थानीय शाक्य समुदायका हुनुपर्छ ।

नवनियुक्त कुमारीमा शारीरिक र धार्मिक गुणलाई विशेष महत्त्व दिइन्छ । परम्पराअनुसार, कुमारीमा ३२ गुण हुनु अनिवार्य छ — जसमा सुन्दरता, शारीरिक शुद्धता, शान्त स्वभाव, दैवी स्वरूपका विशेषताहरू, शरीरमा कुनै घाउ वा दाग नहुनु, सबै दाँत पूरा हुनु र असामान्य निडरता देखाउनुपर्ने अपेक्षा रहन्छ ।
आर्यताराको नियुक्तिले नेपालमै अद्वितीय शताब्दी पुरानो परम्परालाई निरन्तरता दिएको छ । राजकीय जीवित देवी कुमारीलाई हिन्दु तथा बौद्ध दुवैले पूजा गर्छन् । उनी राष्ट्रिय सांस्कृतिक तथा धार्मिक जीवनमा महत्वपूर्ण प्रतीकात्मक भूमिकामा रहन्छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया