तुइनखोलामा फेरि पहिरो : यातायात आवागमन ठप्प, दसैँ मनाउन घर हिँडेकाहरू अलपत्र

लोकपथ
1.4k
Shares

काठमाडौं । नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोलामा पुनः पहिरो जाँदा यातायात आवागमन ठप्प भएको छ । गत बिहीबारदेखि निर्बाध सञ्चालनमा रहेको सो खण्डमा आज पहिरोले आवागमन पूर्ण ठप्प भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । यसले दसैँ मनाउन घर हिँडेकाहरू अलपत्र परेका छन्। 

यो समाचार लेख्दासम्म पहिरो झर्ने क्रम जारी छ । पहिरो रोकिएपछि मात्र डिभिजन कार्यालयबाट तैनाथ अवस्थामा रहेको उपकरणले तत्काल पहिरो हटाउन थालिने भएको छ । 

यसअघि बिहान ७ बजे पनि पुलनजिकै पहिरो खसेको थियो । त्यतिखेरको पहिरो डिभिजन कार्यालयले आधा घण्टाभित्र हटाएर यातायात सुचारु गरेको थियो ।

सोही स्थानमा ठूलो पहिरो जाँदा गत मंगलबारदेखि सडक अवरुद्ध भएको थियो । गत बिहीबार पन्छाएपछि दुईतर्फी आवतजावत सुचारु भए पनि आज पुनः सो स्थानमा पहिरो झरेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?