काठमाडौं । अहिले चाडपर्व नजिकिएसँगै दसैँबजार सुरु भइसकेको छ । चाडपर्वका बेला सस्तोमा समानहरु किन्नका लागि धेरैको ध्यान जाने गरेको छ । लत्ता कपडासँगै खाद्य वस्तुहरुको किनमेल गर्दा सस्तो भन्दा पनि गुणस्तरीय वस्तुहरुको प्रयोग गर्न र खानपानमा समेत सजक रहनुपर्ने सरकारी अधिकारीहरुले बताएका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डाक्टर मतिना जोशी (वैद्य) ले बजारमा जाँदाखेरि हतारमा गर्न नहुने बताइन् । उनकाअनुसार बजारमा सामान किन्दा त्यसको लेबलहरू हेर्ने बानी गर्नुपर्छ । लेबल हेर्दा हामीले कुन–कुन खाद्य वस्तुहरूमा यसको एक्सपायरी डेट छ कि छैन, त्यो पनि हेर्नुपर्छ भने त्यहाँ भएको ‘इन्ग्रेडियन्टस’ पनि हेर्ने बानी बसाल्नुपर्ने उनको भनाइ छ ।
उनकाअनुसार सस्तो मात्र खोज्नु भएन, त्यसमा रहेको क्वालिटी, सेफ्टीहरूको बारेमा समेत उपभोक्ताले जानकारी राख्न जरुरी छ ।
‘घरमा उत्पादन गरेको सबै चिज एकदमै स्वस्थकर हुन्छन् भन्ने छैन’
घरमा उत्पादन गरेको सबै चिज एकदमै स्वस्थकर नहुने जोशीले बताइन् । जोशी (वैध) काअनुसार धेरै फ्याटहरूको, धेरै चिल्लो पदार्थहरूको उपभोग गर्नु स्वास्थ्यकर मानिँदैन । चाडपर्वको बेला धेरै सुगर (चिनी)को मात्राहरूलाई पनि नियन्त्रित रूपमा मात्र उपभोग गर्नुपर्छ ।
आफूले घरमा पकाएको खानेकुराहरूलाई पनि खासगरी एकदम तातोतातै उपभोग गर्नुपर्छ यदि होइन भनेदेखि भोलिको लागि, भरेको लागि राख्ने हो भने, खाना पकाएपछि २ घण्टासम्म मात्र तातो अवस्थामा उपभोग गरिसक्नुपर्ने हुन्छ, त्यसपछाडि उपभोग गर्नुछ भने, त्यसलाई राम्ररी कोठाको तापक्रममा चिसो बनाएर, अनि रेफ्रिजरेटरमा राखेर हामीले २ देखि ३ दिनसम्म उपभोग गर्न सकिने तर त्योभन्दा ज्यादा गर्न नसकिने उनको भनाइ छ ।
धेरै नुनको सेवन नगरौँ
चाडपर्वमा अत्यधिक मात्रामा नुनहरूको सेवन गर्न सकिने भएकाले ख्याल गर्न जरुरी रहेको जोशीले बताइन् । उनकाअनुासर दैनिक एक जना वयस्कको लागि डब्लुएचओको मापदण्डअनुसार पाँच ग्रामभन्दा बढी नुन खान मिल्दैन ।
नेपालीको अहिले एभरेजमा नुनको कन्जम्सन/उपभोग हेर्ने हो भनेदेखि करिब १० ग्राम हामीले खाइरहेको अवस्था छ । त्यसै कारणले हामीले त्यसै पनि सचेत हुनुपर्ने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया