स्वास्थ्य सेवा सुधारलाई प्राथमिकता दिँदै मन्त्री मेहताले गरिन् कार्यसम्पादन सम्झौता

लोकपथ
14
Shares

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग आर्थिक वर्ष २०८३/८४ का लागि कार्यसम्पादन सम्झौता गरेकी छन् ।

सम्झौताका क्रममा मन्त्री मेहताले बिरामीलाई सहज, गुणस्तरीय र सम्मानजनक स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिइन् । उनले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण तथा स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्न निर्देशन दिएकी छन् ।

मन्त्री मेहताले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग सम्झौता गरेकी हुन् ।

सम्झौतामा अस्पतालको सरसफाइ तथा स्वच्छता कायम गर्ने, बिरामीलाई आवश्यकताअनुसार समयमै शय्या उपलब्ध गराउने, उपचारका लागि लामो समय प्रतीक्षा गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने तथा स्वास्थ्यकर्मीको व्यवहारलाई सेवामैत्री र जिम्मेवार बनाउने विषयलाई प्राथमिकता दिइएको छ ।

त्यसैगरी, स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, प्रभावकारी सेवा प्रवाह, संस्थागत सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्दै बिरामीले सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा मन्त्री मेहताले जोड दिइन् ।

कार्यसम्पादन सम्झौतामार्फत प्रतिष्ठानहरूको जिम्मेवारी र लक्ष्य स्पष्ट पार्दै स्वास्थ्य सेवामा सुधार ल्याउने तथा सेवाग्राहीले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

यसैबीच, मन्त्रालयका सचिव डा.विकास देवकोटाले पनि आर्थिक वर्ष २०८३/८४ का लागि १९ वटा संघीय अस्पतालका प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेका छन् । उक्त सम्झौताले संघीय अस्पतालहरूको सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?