ओली र लेखकसहित ५ जनाको पासपोर्ट रोक्का, काठमाडौं उपत्यका छाड्न समेत निषेध

लोकपथ
5.4k
Shares

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहित ५ जनाको पासपोर्ट रोक्का गरिएको छ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको छानबिन गर्न गठित न्यायीक जाँचबुझ आयोगले ५ जनामाथि अनुसन्धान गर्नुपर्ने भन्दै विदेश जान रोक लगाएको हो ।

त्यस्तै उनीहरुलाई अनुमति बेगर काठमाडौं बाहिर जान समेत रोक लगाइएको छ ।

आयोगले तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका निवर्तमान प्रमुख जिल्ला अधिकारी छवि रिजालको पासपोर्ट रोक्का र काठमाडौं बाहिर जान समेत रोक लगाएको हो ।

जेनजी आन्दोलनका क्रममा सरकारले चरम दमन गर्दा भदौ २३ गते १९ जनाको ज्यान गएको थियो । यता तत्कालीन प्रधानमन्त्री ओलीले आफूले गोली चलाउन आदेश नदिएको बताएका थिए ।

यता गृहमन्त्रीको निर्देशनमा तत्कालीन सीडीओ रिजालले बल प्रयोग गरेर पनि संसद भवन जोगाउन भनेका थिए । सोही आधारमा प्रहरीले गोली चलाउँदा १९ जनाको ज्यान गएको थियो ।

तत्कालीन प्रधानमन्त्री ओलीले आफूले निर्देशन नदिएको र ती गोलीहरु समेत कहाँबाट चलेको थाहा नभएको भन्दै पन्छिन खोजेपछि भने उनीमाथि अनुसन्धान गर्न चौतर्फी दबाब समेत बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?