फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन : असोज २० गते भित्र फर्कन पुन:आह्वान

लोकपथ
217
Shares

काठमाडौं । कारागार व्यवस्थापन विभागले गत भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताका प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट भागेका कैदीबन्दीलाई यही असोज २० गतेभित्र कारागार फर्कन आग्रह गरेको छ ।

गृह मन्त्रालय, सुरक्षा निकाय तथा सरोकारवालाको सहकार्यमा फरार कैदीबन्दीलाई फिर्ता ल्याउने काम भइरहेको विभागले जनाएको छ । यसका लागि ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ समेत गठन भएको विभागका निर्देशक एवम् प्रवक्ता चोमेन्द्र न्यौपानेले जानकारी दिए ।

अझै पनि उल्लेख्य संख्यामा कैदीबन्दी फरार अवस्थामा रहेकाले तोकिएको समयमा नफर्के कानुनबमोजिम कारबाही हुने विभागले स्पष्ट पारेको छ ।

गृहमन्त्रीस्तरीय निर्णयअनुसार भागेका कैदीबन्दीबारे सूचना वा जानकारी उपलब्ध गराउन सरोकारवाला निकाय, स्थानीय तह र नागरिकलाई समेत आग्रह गरिएको छ । फरार अवस्थाका कैदीबन्दीलाई लुकाउने, आश्रय दिने वा सहयोग गर्ने व्यक्तिलाई समेत कानुनअनुसार कारबाही हुने चेतावनी विभागले दिएको छ ।

फरार कैदीबन्दीको अद्यावधिक विवरण जिल्लाबाट नियमित संकलन गरी माथिल्लो निकायमा पठाउने व्यवस्था मिलाइएको विभागले जनाएको छ । साथै, खोजी कार्यलाई प्रभावकारी बनाउन जनप्रतिनिधि र अन्य निकायसँग बैठक, अन्तरसमन्वय र आवश्यक परे अन्य संयन्त्रको प्रयोग गर्ने कार्यादेश पनि जारी गरिएको छ ।

भागेका कैदीबन्दीसम्बन्धी सूचना संचार माध्यम, सामाजिक सञ्जाल वा अन्य उपयुक्त माध्यममार्फत कार्यदल वा सुरक्षा निकायको सम्पर्क नम्बर सार्वजनिक गरिने विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?