काठमाडौं । सशस्त्र प्रहरी बलले यो वर्ष मुलुकभरका आफ्ना कार्यालयमा एकै दिन दसैँको बडाभोज आयोजना गरेको छ । विगतमा मातहत कार्यालयले फरक फरक दिनमा बडाभोज गर्ने गरेकोमा यो वर्ष जेनजी आन्दोलनका क्रममा जनधनमा पुगेको क्षतिका कारण सशस्त्रले एकै दिन यो कार्यक्रम आयोजना गरिएको हो ।
स्रोतका अनुसार, सशस्त्रले यो वर्ष पूरै मितव्ययी ढंगले बडाभोज मनाएको छ । यो वर्षको बडाभोजमा सशस्त्रका बहालवाला कर्मचारीका पारिवारिक सदस्य, भूपू कर्मचारी, जनप्रतिनिधि, स्थानीयवासी कसैलाई पनि बोलाइएको थिएन ।
बडाभोज सुरु गर्नुअघि सशस्त्र मुख्यालयमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले निर्देशन सम्बोधन गरेका थिए । उनले चाडपर्व सुरक्षा र निर्वाचनको पूर्वतयारीमा जुट्न निर्देशन दिएका थिए ।
नेपालीहरूको महान् चाड बडादसैँ, शुभदिपावली, नेपाल सम्वत् ११४६ तथा छठ पर्वको उपलक्ष्यमा असोज १० गते प्रधान कार्यालयबाट मातहत सबै इकाईलाई उनले सो निर्देशन दिएका हुन् ।
उनले सशस्त्र प्रहरी बल, नेपालको गौरवमय परम्परालाई जीवन्त राख्दै, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, तराईको उष्णतादेखि हिमालको कठोर चिसोसम्म र अन्तर्राष्ट्रिय शान्ति मिसनहरूमा अहोरात्र देश र जनताको शान्ति, सुरक्षा र उद्धारमा समर्पित सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरूलाई सुख, शान्ति, समृद्धि, र सु–स्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दै यी महान् चाडहरूले आपसी सद्भाव र भाइचाराको विकासमा योगदान गर्ने विश्वास व्यक्त गरे ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले हालैको जेन–जी आन्दोलनमा ज्यान गुमाउने सम्पूर्णमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनहरूमा धैर्यधारण गर्ने शक्ति प्रदान होस् भन्ने कामना गरे । उनले घाइते बिरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरे ।
उनले नजिकिँदै गरेका चाडपर्वहरूमा जनताहरूले निर्धक्कसाथ मनाउनका लागि सुरक्षा व्यवस्थाको सुनिश्चित गर्न चाडपर्व लक्षित सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन तथा सीमा नाकाहरूबाट चाडपर्व मनाउन स्वदेश फर्किने नागरिकको सम्मानजनक तथा सुरक्षित आवागमनको लागि आवश्यक स्थानहरूमा सहायता–डेस्कहरूको स्थापना गरी समकक्षी सुरक्षा निकाय तथा सरोकारवालाहरूसँगको समन्वयमा प्रभावकारी परिचालन र नियमित अनुगमन गर्ने व्यवस्था मिलाउन निर्देशन दिए ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले चाडपर्वको समयमा सडक दुर्घटना, बाढी, पहिरो, आगलागीजस्ता विपद्हरूको जोखिमलाई ध्यानमा राखी उद्धार टोलीलाई पूर्ण तयारी हालतमा राख्न निर्देशन दिँदै विपद् व्यवस्थापनमा प्रभावकारिता बढाउन प्रारम्भिक चेतावनी प्रणालीको विकास र उपयोग, स्थानीय प्रशासन र समकक्षी निकायहरूसँग समन्वय गरी विपद् प्रतिकार्य योजना अद्यावधिक गर्न समेत निर्देशन दिनुभयो । भन्सार नाकाहरूबाट हुन सक्ने राजस्व चुहावट नियन्त्रण गर्न सके राष्ट्रिय अर्थतन्त्रमा थप योगदान गर्न सकिने भएकोले चाडपर्वको मौका छोपेर सीमा क्षेत्रबाट चोरी तस्करी बढ्न सक्ने हुनाले राजश्व चुहावट नियन्त्रणको लागि थप सक्रियता बढाउन समेत उनले निर्देशन दिए ।
अप्ठ्यारो परिस्थितिमा उत्कृष्ट कार्य गर्न जरुरी रहेको स्मरण गर्दै उने उच्च मनोबल र कार्यकुशलताकासाथ कार्यक्षेत्रमा आउन सक्ने चुनौतीको सामना गर्न एकजुट भई योजना बनाउन समेत मातहत कमान्डरहरूलाई निर्देशन दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया