मिसिल जल्दैमा मुद्दाबाट उन्मुक्ति पाइन्छ भनेर नसोचे हुन्छ : प्रधानन्यायाधीश राउत

मदन ढुङ्गाना
15.1k
Shares
प्रकाशमानसिंह राउत, प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले मुद्दाका मिसिल जल्दैमा मुद्दा नसकिने बताएका छन् । सोमबार लोकपथसँग कुराकानी गर्दै राउतले मिसिल जल्दैमा कसैले पनि मुद्दाबाट उन्मुक्ति नपाउने बताएका हुन् ।

सोमबार काठमाडौं जिल्ला अदालतको भवनको अवस्था हेर्न अदालत परिसर पुगेका राउतले मुद्दाका मिसिल जलेर नष्ट भए पनि मुद्दा जीवित रहेको बताए । कतिपयले मुद्दाका मिसिल जलेपछि मुद्दा पनि सकिएको तर्क गरिरहेको प्रति न्यायाधीश राउतले आपत्ति जनाउँदै मिसिल जल्दैमा मुद्दा नसकिने भन्दै मिसिल तयार पारेर न्यायिक निरूपण हुने बताए ।

‘मिसिल जलेपछि मुद्दा सकियो भन्छन् नि, त्यस्तै हो र ? भन्ने लोकपथको प्रश्नमा प्रधानन्यायाधीश राउतले त्यस्तो भ्रममा नपर्न आग्रहसमेत गरे । राउतले भने, ‘मिसिल जल्दैमा मुद्दा सकिँदैन र कसैले त्यस्तो भन्छ भने त्यो गलत हुन्छ ।’

राउतले अगाडि भने, ‘अब हामी मिसिल सिर्जना गछौँ र फेरि प्रक्रियामा जान्छौँ । अदालतमा आएर नसकिएको मुद्दालाई हामी सकियो भनेर कसरी भन्छौँ र ? त्यो त भन्दै भन्दैनौँ । जुन मिसिल जलेर खरानी भए, नष्ट भए, त्यसको पनि हामी मिसिल सिर्जना गर्छौँ र न्यायिक प्रक्रियामा जान्छौँ ।’

त्यसो भए अब कसरी मिसिल निर्माण हुन्छ त भन्ने लोकपथको प्रश्नमा राउतले सरोकारवालासँग मिसिलको प्रतिलिपि मागेर मिसिल तयार पारिने बताए ।

उनले भने, ‘मुद्दाका पक्ष हुन्छन्, विपक्ष हुन्छन् उहाँहरूसँग मिसिल माग्छौँ । कानुन व्यवसायीसँग माग्छौँ, कम्प्युटरमा अभिलिखित रहेछ भने त्यहाँबाट हेर्छौँ । अन्य अदालतमा पत्राचार भएको रहेछ भने त्यहाँबाट पनि हेर्छौँ । सरकारी वकिल, प्रहरी कहीँ न कहीँ त मिसिल हुन्छ नै, हामी त्यहाँबाट पनि हेर्छौँ र मिसिल सिर्जना गर्छौँ । मिसिल जलेपछि मुद्दा सकियो भन्ने भ्रममा कोही नपरे हुन्छ ।’

प्रधानन्यायाधीश राउतले अदालतमा आइसकेको मुद्दा जलेको कारणले उन्मुक्ति पाइन्छ भनेर कसैले नसोचे हुन्छ भन्दै भोलि फैसला र निरूपण हुँदा निर्दोष हुने निर्दोष हुने र दोषी भए दोषी देखिने बताए ।

३८ वटा इजलास रहेको काठमाडौं जिल्ला अदालतको मुख्य भवनमा २५ वटा इजलास सञ्चालनमा रहेका थिए । मुख्य भवनमै आगजनी भई तत्काल बस्न अयोग्य भएपछि अब पूर्ण क्षमतामा इजलास सञ्चालन गर्न असम्भव नै छ ।

यस्तो अवस्थामा सुरक्षित रहेको तेस्रो भवन र सामान्य मर्मत गरेर चलाउन सकिने दोस्रो भवनबाट १२ वटासम्म इजलास चलाउन सकिने भएकाले दसैंलगत्तै १२ वटा इजलास सञ्चालनमा ल्याउने तयारी भएको राउतले बताए ।

तर अदालतसँग कम्प्युटर, प्रिन्टर, टेबुल, कुर्सी लगायतका भौतिक पूर्वाधारसमेत नरहेको भन्दै त्यसको व्यवस्था गर्नसमेत केही समय लाग्ने भएकाले त्यसका लागि छिटो काम गर्न निर्देशनसमेत दिइएको राउतले बताए ।

काठमाडौं जिल्ला अदालतमा चर्चामा रहेका ठुला मुद्दाहरू रहेका फाँट फाँटमा पुगेर आगजनी भएको सम्बन्धमा यस विषयमा छानबिनपछि मात्रै बोल्न ठिक हुने बताए ।

केही फाँटहरूमा नियतवश आगजनी भएको जस्तो देखिन्छ, कसरी लिनुभएको छ भन्ने लोकपथको प्रश्नमा राउतले अहिले नै त्यस विषयमा बोल्नु उचित नभएको बताए ।

राउतले भने, ‘भेस्टेड इन्ट्रेस्ट छ कि छैन भन्ने अनुसन्धानबाट थाहा हुने कुरा हो, त्यो मैले भन्न मिल्दैन । पछि छानबिन होला र अनुसन्धानबाट जे आउँछ त्यसपछि भन्नुपर्ला । छानबिन र अनुसन्धान नभई यस विषयमा बोल्न उपर्युक्त र वाञ्छनीय हुँदैन ।
प्रधानन्यायाधीश राउतले आफू अहिले न्यायिक नेतृत्वमा रहेको कारणले पनि कसरी सेवा प्रवाह गर्ने भन्ने विषयमा मात्रै ध्यान केन्द्रित रहेको बताए ।

उनले भने, ‘अहिले म न्यायिक नेतृत्वमा रहेको कारण सेवा प्रवाह कसरी गर्ने, न्यायको याचना गर्न आउनेहरूलाई कसरी निराश बन्न नदिने, कसरी उनीहरूको मुद्दाहरू दर्ता गरिदिने भन्नेमा चिन्तित छु । अहिले त कसरी सुनुवाइ गर्ने, कसरी कानुन व्यवसायीहरूलाई पनि साथमा लिएर निक्र्यौल र निष्कर्षमा पुग्ने हो, हामी यही कुरामा मात्रै लाग्नेछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?