काठमाडौं । काठमाडौं जिल्ला अदालतले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी एवं तोडफोडका कारण अदालत भवनमा क्षति पुगेका कारण आफ्नो सेवा प्रवाह तत्कालका लागि संकुचित रूपमा मात्र सञ्चालन गर्ने भएको छ ।
काठमाडौं जिल्ला अदालतले तत्कालका लागि कल डिटेल अनुमति, जरुरी पक्राउ पुर्जी स्वीकृति, पक्राउ पुर्जी अनुमति, बन्दीप्रत्यक्षीकरणको निवेदन र अभियोगपत्रसाथ उपस्थित गराइएका प्रतिवादीहरूको बयान एवं थुनछेक मात्र सञ्चालन गर्ने भएको हो । अदालतको पूर्ण बैठकको हिजो २९ गतेको निर्णयानुसार यी सेवाहरू मात्र सुचारु भएको आज सूचना मार्फत जानकारी गराइएको छ ।
काठमाडौं जिल्ला अदालतले भनेको छ, ‘ मिति २०८२/०५/२३ र २४ मा भएको आन्दोलनका कारण भएको आगजनी एवं तोडफोडका कारणबाट यस अदालतको भवनमा पर्न गएको क्षतिको कारणबाट यसपछि आउन सक्ने सुरक्षा चुनौती समेतलाई मध्यनजर गर्दै यस अदालतको सेवाप्रवाह तत्काल संकुचित रूपमा सुचारु गर्नुपर्ने भएकाले सरोकारवाला तथा स्थानीय प्रशासनसँग आवश्यक समन्वय गरी थप निर्णय नहुँदासम्म यस अदालतको पूर्ण बैठकको मिति २०८२।०५।२९ को निर्णयानुसार मिति २०८२/०५/२९ गते आइतबारदेखि देहायका सेवाहरू मात्र सुचारु भएको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’
काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार उपसचिव तीर्थराज भट्टराईद्वारा जारी सूचनामा भनिएको छ, ‘साथै मिति २०८२/०५/२३ गतेदेखि अर्को सूचना प्रकाशित गरी नियमित सेवा सुचारु नभएसम्मको लागि मुद्दाका पक्षहरूको तारेख गुज्रिएको पटक कायम नहुने, म्याद/हदम्याद नगुज्रिने बेहोरासमेत सूचित गरिन्छ । सम्मानित सर्वोच्च अदालत बृहत् पूर्ण इजलासबाट मुद्दा नं ०७६– RE०३९२ समेतका मुद्दामा मिति २०७७।२।१५ मा भएको आदेश बमोजिम उल्लेखित कफ्र्यू/निषेधाज्ञा हटी आवतजावतको अवस्थामा सहज भई यस अदालतको काम कारबाही सुचारु भएको मितिले बाटोको म्याद बाहेक ३० दिनभित्र अदालतमा उपस्थित हुन सक्ने बेहोरा यस अदालतको मिति २०७२।०५।२९ गतेको पूर्ण बैठकको निर्णयानुसार जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया