काठमाडौं । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसियसनले संवैधानिक सर्वोच्चता भन्दा बाहिर गएर खोजिने कुनै पनि विकल्प कायम नहुने भन्दै दबाब सिर्जना गरेको छ ।
बारले आज विज्ञप्ति जारी गर्दै रचनात्मक संवादबाट अहिलेको समस्याको हल खोज्नुपर्ने जनाएको छ ।
‘मान्य संवैधानिक सिद्धान्तहरु र नेपालको अद्धित्तीय भूराजनीतिक वास्तविकताहरु तथा हाम्रो राष्ट्रलाई प्रभाव पार्ने जटिल समकालीन मुद्दाहरुको गहिरो बुझाईद्वारा निर्देशित रचनात्मक संवादमा संलग्न हुनुपर्ने तथ्यमा जोड दिन्छौँ । संवैधानिक सर्वोच्चताको पालना गर्नु केवल एक कानुनी दायित्व मात्र होइन, यो हरेक नेपालीका लागि स्थायी निरन्तरता, न्याय र हाम्रो लोकतान्त्रिक आदर्शहरुको प्रगतिका लागि आधारशिला पनि हो । संवैधानिक सर्वोच्चता बाहिरबाट खोजिने कुनै पनि समाधान वा नियुक्ति नेपाल बार एशोसियसन स्वीकार गर्दैन, विरोध गर्दछ । यसो नगर्न अनुरोध गर्दर्छौँ । अन्तमा, हालको संकटको निकास संवैधानिक मान्यताभित्र खोज्न जेनजी लगायत सम्पूर्ण जनसमुदायमा नेपाल बार एशोसियसन हार्दिक अपिल गर्दछौँ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै बारले जेनजीले उठाएका मागहरुलाई देखाएर मुलुकलाई भूराजनीतिको चपेटामा परेर अध्याँरो अवस्था सिर्जना हुन नदिन सचेतता अपनाउन समेत आग्रह गरेको छ ।
‘सुशासनयुक्त र भ्रष्ट्रचारमुक्त शासन व्यवस्था जेनजी (युवा पुस्ता) आधारभूत माग हो । यो माग यदी भूराजनीतिको चपेटामा परेर अँध्यारो सुरुङ प्रवेश गर्यो भने पुर्खाको रगतबाट सिंचित नेपाली सार्वभौमसत्तामा आँच आउने अवस्था हुन्छ जुन नेपालको कुनै पनि नागरिकले सपनामा पनि स्वीकार्न सक्दैन,’ जारी विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै वर्तमान जटिल परिस्थितिमा संविधानको मर्म भित्र रही तत्काल राष्ट्रिय सरकार गठन गरी शासन प्रणालीलाई सहज बनाउनु पर्ने आवश्यक्तामा जोड दिन समेत आग्रह गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया