काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरत ‘जेनजी’ समूहलाई हिंसात्मक कदम उठाउन नहुन आग्रह गरेको छ ।
आयोगले आन्दोलनकारीलाई संयम अपनाउन भनेको छ भने सरकारलाई पनि समूहका माग सम्बोधन गर्न ध्यान दिन अनुरोध गरेको छ ।
आयोगका प्रवक्ता डाटीकाराम पोखरेलका अनुसार, सोमबारदेखिकै ‘जेनजी’ समूहको प्रदर्शनको अनुगमन भइरहेको छ । अनुगमनका क्रममा सरकारले अत्याधिक बल प्रयोग गरेको पाइएको छ। १९ जनाको मृत्युले पनि सरकारद्वारा अत्याधिक बल प्रयोग भएको पुष्टि भएको उनले बताए ।
यस घटनाको छानबिनका लागि आयोगले डा.लिली थापाको संयोजकत्वमा अनुसन्धान टोली गठन गरेको छ । टोलीले प्रदर्शनका क्रममा भएका मानवअधिकार उल्लङ्घनको विवरण संकलन गरी दोषीलाई कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने सिफारिस गर्नेछ। टोलीले मंगलबारदेखि काम थाल्ने आयोगले जनाएको छ ।
आयोगले उक्त घटनालाई निन्दनीय बताउँदै मानवअधिकारको अन्तर्राष्ट्रिय मूल्य मान्यता, नेपालको संविधान तथा कानूनको विपरीत रहेको जनाएको छ । हत्याको घटनामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता आयोगले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया