काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले अब उमेर पुगेकाहरूले युवा पुस्तालाई हस्तान्तरण गर्न अपिल गरेका छन् ।
अव्यवस्थाविरुद्ध आन्दोलनमा उत्रिएका ‘जेनजी’लाई समर्थन गर्दै उनले यस्तो अपिल गरेका हुन् ।
आज बिहान सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले यस्तो अपिल गरेका हुन् । जसमा उनले आफ्नो घर अगाडि पिच गरेको बाटो केही दिनमै भत्किएको फोटोसमेत राखेका छन् । यसलाई उनले अहिलेको अव्यवस्थाको एउटा नमुना भनेका छन् ।
यो एउटा अव्यवस्थाको उदाहरण मात्र भएको उल्लेख गर्दै उनले जेनजीले अहिले उठाएको आवाज कुनै व्यवस्थाविरुद्ध नभई व्यवस्था हाँकिरहेका दलका नेता र कर्मचारीमाथि भएको उल्लेख गरेका छन् ।
‘आज उठेको आवाज कुनै व्यवस्था विरुद्धको आवाज होइन तर यो व्यवस्था हाँकिराख्नु भएका सबै दलका नेता र कर्मचारीको कार्य माथिको प्रश्न हो । जनताले तपाईंहरुबाट अहिले गरिराख्नु भएको भन्दा धेरै आशा गरेका छन् । अब उमेर भएकाले आफ्नो कार्य क्षमता सुधार्ने र उमेर पुगेकाले युवा पुस्तालाई हस्तान्तरण गर्नु नै उत्तम हुनेछ,’ आचार्यले भनेका छन् ।
उनको स्ट्याटस यसप्रकार छ
मेरो घर छेउको बाटो पिच गरेको केही समयमै भत्कियो । म हरेक दिन मनमा सोच्दै थिएँ यो बाटो यति चाँडो कसरी भत्कियो ? हरेक दिन त्यही बाटो हिँड्छु तर सोच्छु मात्र । तर अहिलेको पुस्ता यस्ता प्रश्न मनभित्र मात्र सोच्दैनन् । प्रश्न उठाउँछन्, जनताको करले बनेको बाटो किन भत्कियो ? कसरी भत्कियो ? यसको जिम्मेवारी कसको ? यो एउटा सानो उदाहरण मात्र हो आजका पुस्ताले प्रश्न गरेका । आज उठेको आवाज कुनै व्यवस्थाविरुद्धको आवाज होइन तर यो व्यवस्था हाँकिराख्नु भएका सबै दलका नेता र कर्मचारीको कार्यमाथिको प्रश्न हो । जनताले तपाईंहरुबाट अहिले गरिराख्नु भएको भन्दा धेरै आशा गरेका छन् । अब उमेर भएकाले आफ्नो कार्य क्षमता सुधार्ने र उमेर पुगेकाले युवा पुस्तालाई हस्तान्तरण गर्नु नै उत्तम हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया