महोत्तरीमा भाद्र पूर्णिमाबाट पितृपक्ष सुरु

लोकपथ
63
Shares

काठमाडौं । भाद्र पूर्णिमाको दिनै महोत्तरीमा पितृपक्ष विधिपूर्वक सुरु भएको छ। असोज कृष्णपक्षलाई पितृपक्ष मानिए पनि, मैथिल परम्पराअनुसार भाद्र पूर्णिमाको दिन देवर्षि पितृ तर्पण गरिने चलन रहेकाले आजै पितृपक्षको पूर्वविधि सुरु भएको हो ।

महोत्तरीको बर्दिबास–२ का पण्डित महेशकुमार झाका अनुसार, ‘भाद्र शुक्ल चतुर्दशीमा ‘नौकेश’ गरेर कूलदेवता, ग्रामदेवता र देवर्षिहरूलाई पहिलो आमन्त्रण गरी भाद्र पूर्णिमाको दिन तर्पण गरिन्छ। यही परम्पराले पितृपक्षको सुरुवात मानिन्छ।’

आज कूलदेवता, ग्रामदेवता र देवर्षिलाई आमन्त्रण गरी तर्पण गरिएको छ भने असोज कृष्णपक्ष प्रतिपदादेखि दिवङ्गत परिवारजनलाई तर्पण दिने पक्षभरि चल्नेछ । पितृपक्षमा दुई प्रकारका श्राद्ध विधि छन् ,पितृपक्षबाहेक दिवङ्गत पितृको पहिलो वार्षिकीमा पार्वण श्राद्ध र पितृपक्षमा गरिने ‘एकोपार्वण’।

मिथिलामा परम्पराअनुसार पितृपक्षको तर्पण र श्राद्ध तीर्थस्थलमा गरिन्छ। टाढा जान नसक्नेहरूले नजिकैको पवित्र जलाशयमा पितृ तर्पण गर्छन् । महोत्तरीका धार्मिक स्थल जस्तै जलेश्वरस्थित भृगु ऋषिको आश्रम, भार्गवसर, लक्ष्मीसागर, मरहा, बाँके र कुटमेश्वरी नदी तटमा आजको दिन देवर्षि तर्पणका लागि भीड देखिएको छ ।

राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीका शिक्षक शोभाकान्त झाका अनुसार, पितृपक्षमा दिवङ्गत पितृ स्वर्गबाट पृथ्वीमा ओर्लेर सन्तानले दिएको तर्पण र पिण्ड ग्रहण गर्ने विश्वास छ । त्यसैले दसैँ, तिहार, छठजस्ता मुख्य चाडअघि पितृ तर्पण गरी पितृलाई तृप्त गराउने चलन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?