भारतीय प्रधानन्यायाधीश गवई लुम्बिनी भ्रमणमा

लोकपथ
140
Shares

लुम्बिनी । भारतका प्रधानन्यायाधीश भुषण रामकृष्ण गवईले आज भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । सर्वोच्च न्यायपालिकाको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो नेपाल यात्रा भएको हो ।

गवईलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा, सदस्य–सचिव सानुराजा शाक्य, कार्यकारी सदस्य श्याम रोक्का र अन्य अधिकारीहरूले स्वागत गरेका थिए । भ्रमणका क्रममा उनले मायादेवी मन्दिर परिसरमा बुद्ध जन्मस्थल अवलोकन गर्दै सूत्रपाठ गरे र विश्व शान्ति, मानव कल्याण, नेपालको प्रगति तथा भारत–नेपाल मित्रता प्रगाढ होस् भन्ने कामना गर्दै दियो प्रज्वलन गरे ।

त्यसपछि गवईले लुम्बिनीको गुरुयोजना र विकास निर्माणका गतिविधिबारे जानकारी लिए र अन्तरराष्ट्रिय प्रचारप्रसारमा नेपालको प्रयासको प्रशंसा गरे । कार्यक्रममा नेपाल–भारतका न्यायाधीश र विधिवेत्ताबीच न्याय क्षेत्रका अनुभव र चुनौतीबारे छलफल पनि भएको थियो ।

लुम्बिनी विकास कोषका अनुसार, प्रधानन्यायाधीश गवईको भ्रमणले लुम्बिनीको सांस्कृतिक, धार्मिक र पर्यटन महत्व अझ उच्च स्तरमा पुग्ने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?