काठमाडौं । महोत्तरीको पिपरा गाउँपालिका–६ रतौलीस्थित आदर्श माध्यमिक विद्यालयमा खाजामा छेपारो परेको घटनापछि ७० भन्दा बढी बालबालिकालाई अस्पताल पुर्याइएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रकाश महतोका अनुसार बिहीबार दिउँसो एक विद्यार्थीको प्लेटमा दिइएको खाजामा छेपारो देखिएपछि उक्त विद्यार्थीले खाजा खान छाडेर घर फर्की अभिभावकलाई जानकारी गराएको थियो । त्यसपछि खाजा खाएका अन्य बालबालिकाले वाकवाकी भएको गुनासो गरेका थिए ।
अभिभावक र विद्यालयले खाजा खाएका सबै बालबालिकालाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पुर्याएका हुन् । अस्पतालका आकस्मिक कक्षका चिकित्सक उज्वल झाका अनुसार बालबालिकामा कुनै गम्भीर स्वास्थ्य समस्या देखिएको छैन । तर डर र सतर्कताका कारण सबैलाई निगरानीका लागि अस्पतालमा राखिएको उनले बताए ।
कतिपय बालबालिका उपचारपछि घर फर्किसकेका छन् भने केहीलाई अझै अस्पतालमा राखिएको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
यता, पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले विद्यालयको दिवा खाजामा छेपारो कसरी पुगेको भन्ने विषयमा छानबिन गर्ने र दोषीलाई कारबाहीसम्म लैजाने चेतावनी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया