काठमाडौँ । मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङलाई ३५ लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । बिहीबार ललितपुर जिल्ला अदालतले गुरुङलाई ३५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
ललितपुर जिल्ला अदालतका न्यायाधीश निर्मला योङयाको इजलासले गुरुङसँग ३५ लाख धरौटी लिई रिहा गर्न आदेश दिएको हो । मितेरी सहकारी ठगीमा जोडिएका अध्यक्ष कुम्भराज गुरुङ मौकामा फरार रहेकामा हाल अदालतमा उपस्थित भएपछि उनको बयान लिई थुनछेक बहस हुँदा अदालतले उनलाई धरौटीमा छाड्न आदेश गरेको हो ।
अदालतले गुरुङले सहकारीको रकम हिनामिना नगरेको भन्न नसकिने भए पनि गुरुङको उमेर ८१ वर्ष पुगिसकेको कारण धरौटीमा छाड्न आदेश गरेको हो ।
नेपाली कांग्रेसका सांसद तथा पूर्व मन्त्री धनराज गुरुङकी पत्नी ज्योति गुरुङ समेतले मितेरी सहकारीको १४ करोड भन्दा बढी निक्षेप अपचलन गरेको कसुरमा ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । यसअघि मुद्दा दायर हुँदा पक्राउ परेका तीनमध्ये दुई जनालाई अदालतले थुनामा पठाउन आदेश दिएको थियो र एक जनासँग धरौट माग गरी रिहा गर्न आदेश दिएको थियो ।
यसअघि पक्राउ परेका व्यक्तिहरू मध्ये रकम अपचलन गर्ने कार्यमा मुख्य संलग्न मानिएका ज्योतिबहादुर भण्डारी र भण्डारीका सहयोगी सुवास खत्रीलाई पुर्पक्षका लागि थुनामा पठाइसकिएको छ । सुरेश अधिकारीलाई भने अदालतले ७ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
मितेरी सहकारी ठगी मुद्दामा ज्योति गुरुङसमेत ८ जनालाई प्रतिवादी बनाई मुद्दा दायर गरिएकामा यसअघि ३ जना मात्रै नियन्त्रणमा आएकामा अध्यक्ष कुम्भराज गुरुङसमेत अदालतमा उपस्थित भएपछि पक्राउ पर्नेको सङ्ख्या ४ जना पुगेको थियो । सहकारीको पूर्व महाप्रबन्धक ज्योति गुरुङ लगायत, लेखापाल लगायतका व्यक्तिहरू भने अझै फरार नै रहेका छन् ।
सहकारीको रकम र सहकारीका अन्य पदाधिकारीको समेत गरी १७ करोडभन्दा बढी रकम अपचलन गरेको भन्दै प्रहरीले तत्कालीन महाप्रबन्धक ज्योति गुरुङ तथा ज्योति गुरुङले रकम दिएको भनिएका ज्योति बहादुर भण्डारीसँग १७ करोड बिगो माग दाबी लिइएको थियो । ज्योतिबहादुर भण्डारीसँग ‘कनेक्सन’ देखिएका सुरेश अधिकारी र सुवास खत्रीलाई प्रहरीले राष्ट्र बैंक ऐन र हुन्डी सम्बन्धी कसुरमा थप १३ करोड बिगो माग दाबी गरिएको थियो ।
थाइल्यान्ड र कम्बोडियामा बसेर व्यवसाय गरेको बताउने भण्डारीले महाप्रबन्ध ज्योति गुरुङ र अध्यक्ष कुम्भराज गुरुङको व्यक्तिगत रकमसमेत चलाएर ठगी गरेको सिआइबीको अनुसन्धानमा उल्लेख छ । सुरुमा आकर्षक ब्याज दिने र अर्को ब्याज दिन पनि सहकारीबाटै रकम लिने गरेको पाइएको थियो । भण्डारीले उनीहरूसँग करिब २१ करोड रुपैयाँ ठगी गरेको पाइएको छ ।
ललितपुर जिल्ला अदालतको आदेशमा तत्कालीन अध्यक्ष कुम्भराज गुरुङले कसुर गरेनन् भन्न नसकिने भन्दै उमेरका कारण मात्रै थुनामा राख्नु नपर्ने बताएको छ ।
अदालतको आदेशमा भनिएको छ,
‘… तत्काल प्राप्त प्रमाणहरू हेरी विचार गर्दा, मिसिल संलग्न जाहेरी दरखास्त, यी प्रतिवादी उपर ठगी सम्बन्धी कसुर मुद्दामा अभियोजन गरिएको, रामदेवी तुलाधरसमेतका बचतकर्ताहरूले गरिदिएको घटना विवरण कागज, लक्ष्मण दुरासमेतले लेखाइदिएको घटना विवरण कागज, प्रतिवादी कुम्भराज गुरुङले मौकामा घटना विवरण कागज तथा अदालतसमक्ष बयान गर्दा आफूले उक्त मितेरी सहकारी संस्थाको महाप्रबन्धक एवं सहप्रतिवादी ज्योति गुरुङको विश्वासमा परी खाली कार्डहरूमा हस्ताक्षर गरी दिएको र सो हस्ताक्षरबाट १२६ थान कार्डको करिब नौ करोड रुपैयाँ हिनामिना भएको भन्ने तथ्य स्वीकार गरी बयान गरेको, प्रतिवादी सुरेश अधिकारीसमेतले प्रतिवादी ज्योति गुरुङ र यी प्रतिवादीबिच सम्पर्क रहेको भनी पोल गरी बयान गरेको साथै निजले अदालतसमक्ष प्रतिवादी कुम्भराज गुरुङसमेतबाट करिब रु.४०,००,०००।– (चालिस लाख रुपैयाँ) सम्म बुझिलिएको, सो रकममध्ये रु.८–९ लाख (आठ देखि नौ लाख रुपैयाँ) प्रतिवादी कुम्भराज गुरुङले भनेको नाम थाहा नभएका ३–४ जना व्यक्तिहरूलाई भेटेर दिएको भन्नेसमेत तथ्य खुलाएको, सूर्जबहादुर थापाको संयोजकत्वमा गठित उक्त सहकारी छानबिन समिति समक्ष स्पष्टीकरण दिँदा यी प्रतिवादीले आफूले अध्यक्षको हैसियतले उक्त सहकारीको रकम हिनामिनामा आफू जिम्मेवारी बनी हिनामिना भएको रकम फिर्ता गर्न प्रयास गर्नेछु भन्नेसमेत तथ्य स्वीकार गरेको, उक्त सहकारीमा सयौँ बचतकर्ताहरूको बचत/निक्षेप रकम रही हालसम्म फिर्ता नभएको अवस्था मिसिलबाट देखिएको समेतका मिसिल संलग्न आधार प्रमाणहरूबाट यी प्रतिवादी कुम्भराज गुरुङलाई अहिले नै कसुरदार होइनन् भनी मान्न मिल्ने अवस्था नदेखिए तापनि निज प्रतिवादीको उमेर ८१ वर्ष भई निज ज्येष्ठ नागरिक रहेको, निजको स्वास्थ्य अवस्था, आरोपित कसुरको अवस्था, कसुरको गम्भीरता, कसुरमा निज प्रतिवादीको संलग्नता र निज प्रतिवादीलाई हुन सक्ने सजायसमेतलाई विचार गर्दा निज प्रतिवादीलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने अवस्थाको विद्यमानता रहे भएको नदेखिँदा पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा हाल मलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ बमोजिम प्रतिवादी कुम्भराज गुरुङबाट रु.३५,००,०००।– (पैँतिस लाख रुपैयाँ) नगद धरौट वा सो बराबरको जेथा जमानत वा बैंक जमानत दिए लिई निज प्रतिवादीलाई मुद्दा पुर्पक्षका निमित्त तारेखमा राख्नु र दिन नसके कानुन बमोजिमको सिधा खान पाउने गरी थुनुवा पुर्जी दिई थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाइदिने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७९ बमोजिम यो आदेश पर्चा गरिदिएको छ ।’
यही आदेशका आधारमा तत्कालीन अध्यक्ष कुम्भराज गुरुङ धरौटी रकम बुझाएर रिहा हुनेछन् ।
हेर्नुहोस् आदेश ….
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया