फोनेपेको क्युआर नेटवर्कमा सिटीपे, १७ लाखभन्दा बढी आउटलेटमा भुक्तानी

लोकपथ
147
Shares

काठमाडौं । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक फोनेपेले सिटीपे डिजिटल वालेटलाई आफ्नो पारिस्थितिक प्रणालीमा एकीकृत गरिएको दशौँ वालेटका रूपमा औपचारिक रूपमा स्वागत गरेको छ ।

यस साझेदारीले नेपालमा सहज, सुरक्षित र समावेशी डिजिटल कारोबार प्रणाली निर्माण गर्ने फोनेपेको अभियानमा नयाँ उचाइ थपेको बताइएको छ ।

अबदेखि सिटीपे वालेट प्रयोगकर्ताहरूले फोनेपेको राष्ट्रव्यापी अन्तरसञ्चालित क्युआर नेटवर्कमा पहुँच प्राप्त गर्नेछन् । यसको अर्थ, उनीहरूले देशभर १७ लाखभन्दा बढी व्यापारी आउटलेटहरूमा सहज रूपमा डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

हाल फोनेपेले ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूलाई जोडेको छ र डिजिटल वालेटहरूलाई पनि आफ्नो प्रणालीमा समेट्दै आएको छ । यसले लाखौँ प्रयोगकर्ताहरूलाई सुरक्षित, भरपर्दो र तत्काल डिजिटल कारोबारको सेवा दिन सक्षम भएको छ ।

सिटीपेलाई स्वागत गर्दै, फोनेपेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवस कुमारले भने, ‘हाम्रो पारिस्थितिकी प्रणालीमा सिटीपे स्वागत गर्नु हाम्रो यात्रामा एक महत्वपूर्ण कदम हो। प्रत्येक नयाँ एकीकरणले नेटवर्कलाई बलियो, समावेशी र जनताका लागि अझ उपयोगी बनाउँछ । हाम्रो उद्देश्य केवल वालेट र बैंकहरूलाई जोड्नु मात्र होइन, प्रत्येक व्यक्ति र व्यवसायलाई डिजिटल भुक्तानीको वास्तविक सुविधा र विश्वास अनुभव गराउनु हो ।’

‘यो केवल प्रविधि सम्बन्धी सहकार्य होइन। यो लाखौं रेमिट्यान्स लाभार्थीलाई सशक्त बनाउने प्रयास हो। सिटीपे र फोनेपे सँगै लाखौं प्रयोगकर्ता र व्यापारीहरूलाई सहज, सुरक्षित र तुरुन्त कारोबार गर्न सक्षम बनाउनेछन्,’ सिटीपेका सीइओ बिनय रेग्मीले उक्त साझेदारीको महत्वबारे भनाइ राख्दै भने ।

यस साझेदारीको अवसरमा, सिटीपेले फोनेपे नेटवर्कमार्फत गरिने कारोबारमा आधारित विशेष ‘पर्व अभियान’ पनि सार्वजनिक गरेको छ। सेप्टेम्बर २ देखि नोभेम्बर २, २०२५ सम्म सिटीपे वालेटमार्फत गरिने प्रत्येक कारोबारले स्वचालित रूपमा भाग्यशाली चिट्ठामा सहभागिता जनाउनेछ।

अभियान अवधिभर दुई भाग्यशाली विजेताले दुईवटा सामसङ टेलिभिजन जित्न सक्नेछन् । विजेताहरू मासिक रूपमा सार्वजनिक गरिनेछन्।

त्यसैगरी, ५०० भन्दा माथिको हरेक क्युआर कारोबारमा सिटीपेले २० रिवार्ड पोइन्ट दिनेछ, जुन प्रयोगकर्ताले कम्पनीको नीति अनुसार नगद वा वस्तुमा रूपान्तरण गर्न सक्नेछन् ।

सिटीपेको यो समावेशीकरणले डिजिटल भुक्तानी पारिस्थितिकी प्रणाली अझ मजबुत बनाउन सहयोग पुर्‍याउने विश्वास गरिएको छ । नेपाल नगद रहित अर्थतन्त्रतर्फ तीव्र रूपमा अग्रसर भइरहेका बेला यस्ता सहकार्यहरूले प्रविधिमा नवप्रवर्तन, सेवाको अन्तरसञ्चालन, र सबै वर्गलाई वित्तीय पहुँच दिलाउन महत्वपूर्ण भूमिका खेल्ने विज्ञहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?