नाडा अटो शो २०२६ आजदेखि, २०० भन्दा बढी स्टलमा सवारी र प्रविधिको प्रदर्शनी

लोकपथ
0
Shares

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आज मंगलबारदेखि १८औँ नाडा अटो शो २०२६ सुरु हुँदैछ । नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) को ५०औँ स्थापना वर्षको अवसरमा आयोजना हुन लागेको यस वर्षको अटो शो ‘स्वर्ण जयन्ती विशेष संस्करण’का रूपमा आयोजना हुँदैछ ।

भदौ ९ देखि १४ गतेसम्म सञ्चालन हुने अटो शोमा नेपाली उत्पादनसँगै अत्याधुनिक सवारी प्रविधि, विद्युतीय तथा हाइब्रिड सवारीसाधन र रोबोट मुख्य आकर्षणका रूपमा रहनेछन् ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नाडाको ५० वर्षे यात्रामा अटोमोबाइल क्षेत्र नेपालको आर्थिक तथा औद्योगिक विकासको महत्त्वपूर्ण हिस्सा बन्दै आएको बताए । उनका अनुसार यस वर्षको अटो शो सवारीसाधनको प्रदर्शनीमा मात्र सीमित नभई नेपालको अटोमोबाइल क्षेत्रले हासिल गरेको परिवर्तन र आगामी सम्भावनाको प्रतिबिम्ब बन्नेछ ।

नाडा अटो शो समितिका सभापति अनूपकुमार बरालका अनुसार स्वर्ण उत्सव संस्करणका रूपमा आयोजना हुन लागेको प्रदर्शनी करिब ३ लाख वर्गफिट क्षेत्रफलमा फैलिनेछ । मेलामा साना–ठूला गरी २०० भन्दा बढी स्टल रहनेछन् ।

प्रदर्शनीमा २३ ब्रान्डका प्यासेन्जर कार, १७ ब्रान्डका लाइट कमर्सियल भेइकल, ३० ब्रान्डका दुईपाङ्ग्रे सवारी तथा १० वित्तीय एवं बीमा कम्पनी सहभागी हुनेछन् । त्यस्तै, पार्टपुर्जा, टायर र ब्याट्रीका लागि मात्रै ७० वटा स्टल छुट्याइएको छ ।

यस वर्षको अटो शोमा नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिइएको छ । ‘मेड इन नेपाल एन्ड मेक फर नेपाल’ प्याभिलियनमार्फत स्वदेशमै उत्पादन तथा एसेम्बल भएका सामग्रीलाई छुट्टै स्थानमा प्रदर्शन गरिनेछ । करिब ८ नेपाली उत्पादक सहभागी हुने उक्त प्याभिलियनमा विद्युतीय मोटरसाइकल, अटोमोटिभ ब्याट्री, ल्युब्रिकेन्ट र हेल्मेटलगायतका उत्पादन प्रदर्शन गरिने जनाइएको छ ।

नेपालमा हालसम्म करिब ६३ हजार विद्युतीय सवारीसाधन भित्रिसकेका छन् भने निजी क्षेत्र र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा देशभर करिब २ हजार चार्जिङ स्टेसन सञ्चालनमा आइसकेका छन् । नाडाका अनुसार नेपालमा विद्युतीय सवारीको विस्तार चार्जिङ पूर्वाधारको विकासभन्दा तीव्र गतिमा भइरहेको छ । यही विषयलाई केन्द्रमा राख्दै अटो शोमा सवारीसाधन, चार्जिङ प्रविधि र वित्तीय सेवासम्बन्धी कम्पनीलाई एउटै स्थानमा ल्याएर छलफल गरिनेछ ।

अटो शोमा विभिन्न मूल्य र वर्गका विद्युतीय तथा हाइब्रिड सवारीसाधन प्रदर्शन गरिनेछन् । बीवाईडी, लीपमोटर, जिली, एमजी र वुलिङलगायत ब्रान्डका विद्युतीय सवारी प्रदर्शनीमा रहनेछन् । दुईपाङ्ग्रेतर्फ रिभोल्टका साथै नेपालमै डिजाइन तथा एसेम्बल हुने यात्रीका विद्युतीय मोटरसाइकल पनि सहभागी हुनेछन् ।

चार्जिङ पूर्वाधारतर्फ जीआई चार्जर आधिकारिक चार्जिङ पार्टनरका रूपमा रहनेछ । एक्सिकम, जेभपोइन्ट र एयरचार्जले एसी तथा डीसी चार्जिङ प्रणाली प्रदर्शन गर्नेछन् ।

अटो शोको अर्को प्रमुख आकर्षण अत्याधुनिक रोबोट रहनेछन् । प्रदर्शनीमा जीआई ह्युमनोइड रोबोट र गो२ क्वाड्रुपेड रोबोट प्रदर्शन गरिने नाडाले जनाएको छ । यी रोबोटमार्फत अटोमोबाइल तथा भविष्यको यातायात प्रविधिमा भइरहेको विकासबारे दर्शकलाई जानकारी दिइनेछ ।

नाडाका अनुसार नेपाली उत्पादन र नयाँ प्रविधिलाई एउटै छानामुनि प्रस्तुत गरिने भएकाले यस वर्षको अटो शो अटोमोबाइलप्रेमीका साथै प्रविधिमा रुचि राख्ने दर्शकका लागि समेत विशेष हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?