विपक्षी दलहरूसँग सरकारले वार्ता नगरेकोप्रति सभामुखको गुनासो

लोकपथ
399
Shares

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद केवल असहमति व्यक्त गर्ने स्थल मात्र नभई राष्ट्रिय सहमतिको आवाज प्रकट गर्ने थलो पनि भएको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु हुँदै गर्दा सभामुख घिमिरेले भिजिट भिसा प्रकरण दुरुपयोगसम्बन्धी विवादलाई लिएर संसदमा लगातार अवरोध गरिरहेका दल र सरकारबिच आवश्यक छलफल नभएकोमा चिन्ता व्यक्त गरे ।

उनले बैठक सुरु हुनासाथ असहमति प्रदर्शन गर्ने र बाहिरिने प्रवृत्ति लोकतान्त्रिक अभ्यासका लागि दीर्घकालीन रूपमा हानिकारक हुन सक्ने चेतावनी पनि दिए ।

सभामुख घिमिरेले भने, ‘भिजिट भिसा प्रकरणको छानबिन लगायतका माग राखेर प्रतिपक्षी बेन्चमा रहेका माननीय सदस्यहरू नियमित बैठकमा सहभागी हुनुभएको छैन । म सहमतिका लागि सम्भाव्य सबै प्रयास गरिसकेको छु र आज पनि प्रयासरत छु। तर सरकार र राजनीतिक दलहरूबिच आवश्यक संवाद र छलफल नभएकोमा मलाई चिन्ता छ। हामी भविष्यलाई के सन्देश दिइरहेका छौँ भन्ने विषयमा सजक हुन आवश्यक छ ।’

प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले गृहमन्त्रीको राजीनामा र भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै सभाको बैठक बहिस्कार गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?