ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ बाट सम्मानित

लोकपथ
56
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ अन्तर्गतको बेस्ट बैंक अवार्ड प्राप्त गरेको छ । 

बैंकिङ क्षेत्रकै प्रतिष्ठित अवार्ड मानिने यो सम्मान ग्लोबल आइएमईलाई उत्कृष्ट सेवा, वित्तीय अवस्था, सामाजिक उत्तरदायित्व, प्रविधि उपयोग, वातावरणीय तथा सुशासनमा गरेको लगानी र उच्च कार्यसम्पादनका आधारमा प्रदान गरिएको हो ।

सन् १९९२ मा स्थापना भएको युरो मनी अवार्ड बैंकिङ क्षेत्रमा विश्वव्यापी रूपमा प्रतिष्ठित मानिन्छ । युरो मनी म्यागजिन बैंकिङ क्षेत्रमा गहिरो विश्लेषण र समालोचनाका लागि प्रख्यात छ भने यस समूहमा ख्यातिप्राप्त वित्तीय विज्ञहरूको संलग्नता रहेको छ ।

यो अवार्डसँगै ग्लोबल आइएमई बैंक तेस्रो पटक ‘बेस्ट बैंक अवार्ड’ बाट सम्मानित भएको हो । यसअघि बैंकले २०२२ र २०२४ मा पनि सो अवार्ड जितिसकेको थियो । साथै, ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंकको सम्मानसमेत बैंकले प्राप्त गरिसकेको छ ।

ग्लोबल आइएमई बैंक मुलुकभरका ७७ वटै जिल्लामा सेवा विस्तार गरेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । हाल बैंकले ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत १,००० भन्दा बढी सेवा केन्द्र बाट सेवा प्रदान गरिरहेको छ ।

नेपालीलाई भित्रदेशीय बैंकिङ सेवामा सीमित नराखी, बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायतका देशबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?