काठमाडौं भ्यू टावर निर्माण कार्य अघि बढाउन उच्च अदालतको आदेश

लोकपथ
840
Shares

काठमाडौं । उच्च अदालत पाटनले पुरानो बसपार्कस्थित भ्यू टावरको निर्माण नरोक्न काठमाडौं महानगरपालिकाको नाममा अन्तरिम आदेश गरेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको आदेशमा रोकिएको भ्यू टावर निर्माणको कामलाई यथावत अघि बढाउन अदालतले अन्तरिम आदेशमार्फत अनुमति दिएको हाे ।

उच्च अदालत पाटनका न्यायाधीश प्रकाश खरेलको एकल इजलासले सोमबार जारी गरेको आदेशमा पुरानो बसपार्कस्थित जग्गामा निर्माणाधीन काठमाडौं भ्यू टावरको निर्माण कार्य रोक्न नहुने उल्लेख गरिएको छ ।

निर्माण कम्पनी जलेश्वर स्वच्छन्द विकोइ बिल्डर्स प्रालिले निर्माणको ठेक्का पाएको भ्यू टावर भूमिगत दुई तला सहित १२ तले हुने गरी स्वीकृत छ। सुरुमा यही संरचनालाई अनुमति दिइए पनि पछि थप प्रक्रिया पुर्‍याएर नक्सा पास गरिएको थियो। तर गत माघमा काठमाडौं महानगरले निर्माण कार्य रोक्न निर्देशन दिएपछि कम्पनी अदालत गएको थियो ।

अदालतले जारी गरेको आदेशमा भनिएको छ, ‘निवेदकले सम्झौताबमोजिम प्राप्त गरेको नक्सा पासको अनुमति र निर्णय यथावत रहेको परिप्रेक्ष्यमा सम्झौता बमोजिम भवन निर्माण कार्यलाई निरन्तरता दिनु वाञ्छनीय देखिएको छ।’ साथै महानगरपालिकाबाट माघ ९ गते जारी गरिएको निर्माण रोक्का सम्बन्धी पत्र कार्यान्वयन नगर्न आदेश दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?