काठमाडौं । आगामी कार्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि चहलपहल बढ्दो छ ।
विभिन्न राजनीतिक दल र स्वतन्त्रहरुको समेत सो क्षेत्रमा उम्मेवदवारीका लागि होडबाजी नै चलिरहेको छ ।
यसैक्रममा बुटवल उपमहानगरपालिका–१९ मोतिपुरका लेखनाथ गैरेले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।
आइतबार पत्रकार सम्मेलन गर्दै गैरेले आगामी उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।
विद्यार्थी जीवनमा समेत कुनै राजनीतिक दलमा संलग्न नरहेको गैरेको दाबी छ । साथै आफूले भ्रष्टाचार, राजनीतिक हस्तक्षेप र नागरिकहरुको वितृष्णाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् ।
उम्मेदवारी घोषणा गर्दै उनले गौतम बुद्ध विमानस्थल सञ्चालन, तिनाउ नदीको ढुंगा गिटी चोरी नियन्त्रण, भन्सार छली रोकथाम, कृषि समस्या समाधान, पर्यटन प्रवर्द्धन र सुशासनलाई मुख्य एजेण्डा बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उक्त क्षेत्रमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा, नागरिक उन्मुक्ति लगायतका दलका नेताहरू उम्मेदवारीका आकांक्षी छन् ।
गत निर्वाचनमा सो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दिपकबहादुर बोहरा निर्वाचित भएका थिए । केही समयअघि बोहराको निधन भएपछि सो क्षेत्रमा पुनः उपनिर्वाचन हुन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया