काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै आफूलाई स्पष्टीकरण सोधिएको भन्ने कुरा पूर्णतः निराधार भएको स्पष्ट पारेकी छिन् ।
बिहिबार पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेतृ झाँक्रीले पार्टीभित्र कतिपय प्रभावशाली पदाधिकारीहरूले मिडिया मार्फत आफूविरुद्ध स्पष्टीकरण सोधिएको भन्दै हल्ला फैलाएको आरोप लगाइन् ।
उनले भनिन्, ‘मलाई अहिलेसम्म पार्टीले कुनै स्पष्टीकरण सोधेको छैन। केही शक्तिशाली नेताहरूले टेलिभिजनबाट यस्तो कुरा सार्वजनिक गर्नुभएको छ, तर म त्यो भ्रम चिर्नकै लागि आज सचिवालय बैठकमा निवेदन लिएर आएकी हुँ ।’
झाँक्रीले बुटवलमा पार्टीसम्बद्ध युवा संगठनद्वारा आयोजित कार्यक्रममा दिएको ‘मरेको सिनो काँधमा बोकेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौँ’ भन्ने अभिव्यक्तिलाई लिएर विभिन्न टिप्पणीहरू आएका थिए । त्यसपछि पार्टी महासचिव घनश्याम भुसालले सार्वजनिक रूपमा अभिव्यक्ति दिनु अघि सावधानी अपनाउन ध्यानाकर्षण गराएका थिए ।
उनले भनिन्, ‘१५ गते नै कुनै क्रिया–प्रतिक्रिया नगर्न निर्देशन आएको थियो, तर त्यसपछि झनै मिडियामा पार्टीबाट निकालिन्छ, कारबाही हुन्छ भन्ने किसिमको अभिव्यक्ति आउन थाले। त्यसैले म पार्टीलाई नोक्सान नहोस् भनेर आधिकारिक रूपमा सचिवालय बैठकमै बोलाइदिन आग्रह गर्दै निवेदन लिएर आएकी हुँ ।’
झाँक्रीले पार्टीलाई आफ्नो कारणले क्षति नपुगोस् भन्ने सोचले आफू उपस्थित भएको र औपचारिक रूपमा भ्रम चिर्न चाहेको बताइन् । उनले पार्टीभित्र अनुशासन कायम रहोस् र आन्तरिक विषयहरू सार्वजनिक रूपमा भ्रमको रूपमा नफैलिऊन् भन्ने आग्रहसमेत गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया