काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले निजामती सेवा विधेयकमा गरिएको ‘कुलिङ पिरियड’ सम्बन्धी परिवर्तनलाई साधारण त्रुटी नभई योजनाबद्ध षड्यन्त्र भएको दाबी गरेका छन्।
बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले कुलिङ पिरियडबारे गरिएको छेडखानी अहिलेको मात्र विषय नभएको स्पष्ट पारे। ‘यो छेडखानी मात्रै होइन, षड्यन्त्र भएको छ,’ उनले भने, ‘मुख्य सचिवदेखि सहसचिवसम्मको भूमिका के थियो, त्यो बुझ्न चाहन्छौं।’
उनले देशलाई सुधार्न नेतृत्व तहका सबैले ‘नेपाल आमाको अनुहार’ हेर्नुपर्नेमा जोड दिए। ‘आफ्नो लाभ होइन, देशको हित सोच्नुपर्ने हो,’ उनले भने।
प्रमुख सचेतक पाण्डेले विधेयक समितिबाट पास भएपछि अन्तिममा समितिका सदस्यहरूलाई पढाइएन भन्ने आरोपसमेत लगाए। उनले विधेयक कसरी, कसको संलग्नतामा परिवर्तन भयो भन्ने विषयमा गम्भीर छानबिनको माग गरे।
‘नजानेर त्रुटी भयो भन्न मिल्दैन, यो नियोजित रूपमा भएको छ,’उनले भने, ‘कसले(को–कसरी संलग्न भएर यस्तो गरे, अब त्यसको छानबिन हुनु आवश्यक छ।’ पाण्डेको भनाइसँगै समितिमा विधेयक संशोधन प्रक्रियालाई लिएर उत्पन्न विवाद थप जटिल बनेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया