सबैको बन्ने अवसर छाडेर एमालेकी मात्र बन्न पुगेकी ‘विद्यादेवी’

विद्यादेवी भण्डारी र नन्दबहादुर पुन ‘पासाङ’ ले स्थापित गरे नयाँ नजीर

०८१ साल पुस १९ गते नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई उनकै अघि पुनः सक्रिय राजनीतिमा नआउन सुझाव दिए ।

भण्डारीका लागि त्यस्ता सुझावहरु खास नौला थिएनन्, तर शर्माले प्रयोग गरेका विम्वहरुले भने केही सोच्न बाध्य बनाउन सक्थ्यो । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा लिखित ‘आमा, सपना र ताराहरु’ कविता संग्रह विमोचनको संयोग थियो त्यो ।

विशेषतः आमामाथि केन्द्रित रहेर पोखरेलले लेखेको कविता संग्रहबारे आफ्नो धारणा राख्दै विश्वप्रकाशले ईश्वरकी आमाको महिमा गाए । साथै मञ्चमै रहेकी विद्यादेवीलाई सम्मानित पदमा पुगिसकेको व्यक्ति राष्ट्रका लागि आमाको भूमिकामा बस्न सुझाव दिँदै धेरै वटा प्रशंगहरु सुनाएका थिए ।

‘मेरो शुभकामना छ, राजनीतिमै फेरि आउने हो की साथीहरुले इच्छा राखेका हुन् कि भन्ने चर्चा पनि छ । यहाँको स्वतन्त्रताको म सम्मान गर्दछु । यदी मलाई कसैले तिम्रो देशको शीतल निवासबाट निस्किएको पूर्व राष्ट्रपतिहरुले के गर्नुपर्छ भनेर सोध्छ भने सामाजिक अभिभावक देशलाई चाहिएको छ, उहाँहरु सामाजिक व्यक्तित्व बन्नुपर्छ भन्नेछु । ताकि आमाहरुले त्यो प्रकारको पीडा भोग्न नपरोस्,’ महामन्त्री शर्माले भनेका थिए ।

त्यसपछि बोलेकी भण्डारीले त्यस विषयमा कुनै पनि धारणा राखिनन्, यानेकी आफू सक्रिय राजनीतिमा आउने वा नआउने भन्ने कुरै उच्चारण गरिनन् । न महामन्त्री शर्माको व्यंग्यलाई ‘प्रतिव्यग्य’ नै गरिन् । त्यस्ता धेरै कार्यक्रममा पुग्ने गरेकी उनले न सक्रिय राजनीतिमा आउँछु भनिन्, न आउँदिन भनेर मुख नै खोलिन् । ०७९ साल फागुन २९ मा शीतल निवासबाट बाहिरिएपछि भण्डारीको सक्रियता बढ्यो, तर राजनीतिमा आउने नआउने भन्ने मौनताले सबैलाई कौतुहल बनायो ।

विद्यादेवीका लागि यसअघिका असार १४ पनि केही स्मरणयोग्य थिए । तर ०८२ असार १४ र त्यसपछिका १४ असार झन खास बन्ने गरी निर्णय गरिन् । उनले आफू राजनीतिमा पुनः आउने यस्तो मिति छानिन्, जुन दिन स्वर्गीय पति मदन भण्डारी यस धर्तीमा आएका थिए ।

स्वर्गीय पति धर्तीमा आगमन भएको दिनलाई नै भण्डारीले राजनीतिमा पुनरागमनको मिति तोकिन् र कौतुहल हुनेहरुको कौतुहलता र शंकामा रहेकाहरुको शंका तोडियो । उनी पूर्व सम्माननीय राष्ट्रपतिबाट एमाले नेतृ हुँदै एमालेको नेतृत्व लिने बाटोमा लागिन् ।

जननेता मदन भण्डारीको ७४औँ स्मृती दिवसका अवसरमा शनिबार बोल्दै उनले आफू एमालेको संगठित सदस्य ‘रिन्यू’ गरेर एमालेको राजनीति ‘कन्टिन्यू’ गर्न लागेको सुनाइन् ।

त्यतिमात्र उनले सुनाइनन्, विद्यार्थी कालदेखिकै संघर्षका कथा सुनाइन् । जहाँबाट उनले ७ वर्ष राष्ट्रपति बनेको बाहेक मेरो पनि एमालेमा योगादन छ, भन्ने सन्देश दिइन् ।

न विधानले रोक्छ, न त संविधानले नै छेक्छ । छेक्ने त्यही नैतिकताको पर्खाल थियो । त्यो पनि नाघेपछि राजनीतिमा आउन असार १४ बाट घोषित रुपमै बेलगाम भइन् ‘विद्यादेवी’ ।

‘फरक ढंगको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उदेश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु । अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु । मेरो कुनै व्यक्तिगत महत्वकांक्षा छैन,’ शनिबार राजनीतिमा पुनरागमन गर्दै विद्यादेवीले भनेका शब्दहरु हुन् यी ।

एमालेभित्रको शक्ति सन्तुलन, वामपन्थी एकताको सम्भावना र सम्मानित पदमा पुगिसकेपछि पनि राजनीतिमा फर्किन सम्भव रहेछ भन्ने सन्देश, भण्डारीको राजनीतिमा पुनरागमन यस्ता कोणबाट विश्लेषण हुन थालेको छ ।

मदनको अवसानपछि लामो समय एमाले हाँकेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालका लागि समेत राष्ट्रपतिको ‘अफर’ एमालेले नै गरेको थियो । तर राष्ट्रपति बनेपछि बाँकी राजनीतिक जीवन दाउमा लाग्ने भन्दै नेपालले त्यसबेला राष्ट्रपति बन्नबाट पन्छिएका थिए । उनले भनेका थिए, ‘मेरो रुची पनि छैन, मेरो उमेर पनि भएको छैन ।’

राष्ट्रपति बनिसकेपछि फर्किएर पुनः राजनीतिमा सक्रिय बन्न सकिन्छ भन्ने सायद नेपालले सोचेनन् कि ! वा पहिलो राष्ट्रपति जस्तै पूर्व राष्ट्रपतिको मात्रै हैसियतमा बस्नुपर्छ भन्ने मात्रै सोचे, त्यसैले उनले आफू राष्ट्रपति बन्ने मनसायमा नरहेको भन्दै पन्छिएका थिए ।

भण्डारीले एमाले उपाध्यक्ष हुँदाहुँदै राष्ट्रपति बन्ने अवसर पाएकी थिइन्, यता कांग्रेसको तत्कालीन महामन्त्री नै रहेका बेला प्रथम राष्ट्रपति बनेका थिए, डा. रामवरण यादव । ७ वर्ष राष्ट्रपति बनेर शीतल निवासबाट यादव बाहिरिएको दशक पुग्यो । तर उनी अहिलेसम्म सक्रिय राजनीतिमा आउने न घोषणा गरेका छन्, न त घोषित रुपमा कांग्रेस बनेका छन् । पार्टीबाट राष्ट्रपति भएपछि पार्टीको ‘ट्याग’ लाग्नु त स्वभाविक हो तर राष्ट्रपतिबाट बिदा भएपछि सक्रिय राजनीति गरेर देशका लागि अझै ‘त्याग’ गर्छु भन्ने कतै सुनिएको छैन ।

रामवरणको अपवादलाई छाडेर पूर्व राष्ट्रपति भण्डारीको राजनीतिक आगमनले आगामी राष्ट्रपतिहरुका लागि समेत बाटो खोलिदियो । कि अबका राष्ट्रपतिहरुलाई मन लाग्यो भने, समय र स्वास्थ्यले साथ दियो भने विद्यादेवीले जति सोच्नु पर्नेछैन, विद्यादेवीको जति आलोचना पनि हुने छैन । पूर्वराष्ट्रपति राजनीतिमा आउन सक्छन् भन्ने नजीर बनिदिइन् विद्यादेवी ।

विद्यादेवीले मात्र होइन, विद्यादेवी कार्यकालमै ७ वर्ष उपराष्ट्रपति बनेका नन्दबहादुर पुन ‘पासाङ’ ले पनि बाटो खोलिदिएका छन्, पूर्व बन्ने उपराष्ट्रपतिहरुका लागि ।

भण्डारीले राजनीतिमा पुनः सक्रिय हुने ‘रिहर्सल’ गरिरहँदा पासाङले एक कदम अघि बढेर पूर्व पार्टीमा सक्रिय मात्र होइन, पदीय जिम्मेवारी नै लिइसकेका छन् । पूर्व जनुमक्ति सेनाका कमाण्डर पासाङलाई माओवादीले उपाध्यक्ष बनाइसकेको छ ।

एकै समयमा राष्ट्रपति र उपराष्ट्रपति बनेकाहरुले देखाएको एकै किसिमको चरित्र नेपाली राजनीतिका लागि नयाँ मानक बन्नेछ ।

यता माक्र्सवाद र लेनिनवाद छाडेर पछिल्ला दिनहरुमा ‘झोलेवाद’ तिर अघि बढेको एमालेका लागि त्यो भन्दा पार्टीभित्र संकट ल्याउने अर्को तथ्य ‘ओलीवाद’ रहेको तर्क सुनिन्छ । विद्यादेवीको एमाले पुनरागमनले त्यसलाई सन्तुलन कायम गर्न सकिन्छ भन्दै उनलाई सक्रिय बनाउन अध्यक्ष केपी शर्मा ओली ‘ग्याङ’ मै पडक राख्ने कतिपय नेताहरु समेत लागेका छन् ।

शंका र उपशंकाबिच केही समय अघि १० दिन चीनको राजनीतिक भ्रमण गरेर फर्किएपछि भने उनलाई राजनीतिमा आउने कुरा औपचारिक रुपमा भन्न सहज बन्न पुग्यो ।

सक्रिय राजनीतिमा पुनरागमनको उद्घोष गर्दै मदनकै कुरा स्मरण गर्दै विद्यादेवीले ‘थकाई’ नमार्ने त भनिन् । तर राजनीतिमा थकाई र विश्राम फरक कुरा हुन् । थाक्नु र विश्राम लिनु फरक नै बुझेको भए त ठिकै हो, नत्र नथाक्ने, थाके पनि विश्राम नलिने अहिलेकै नेताहरुको प्रवृत्ति दोहोरिने हो भने एमालेको आन्तरिक जीवन थप तहसनहस हुनेछ ।

भण्डारी राष्ट्रपति भएकै बेला तत्कालीन एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्यो र विभाजन पनि भयो । एकता र विभाजनका लागि चीन र राष्ट्रपतिका रुपमा भण्डारी मज्जैले लागेका थिए । चिनियाँ राजदूत र तत्कालीन समयमा राष्ट्रपति रहेकी भण्डारी दुवैले आफ्नो मर्यादा नै भुलेर भेटघाट गरेका थिए । कम्युनिष्ट एकता बचाउन आफ्नो पदीय मर्यादा नै भुलेकी भण्डारीले पुनः वामपन्थी एकता गराउन सक्ने भन्दै चीन भ्रमण र त्यसपछि नै राजनीतिमा पुनरोदयको उद्घोष हुनुलाई चासोका साथ हेरिन्छ ।

मदन भण्डारी भन्ने गर्दथे, ‘राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन ।’ यदी ०५० जेठ ३ को अकल्पनीय घटना नहुन्थ्यो भने आज मदन भण्डारी ७४ वर्षका हुने थिए । सायद थकाई नमार्दै छोटो समयमा नै ‘नेपाली कार्लमाक्र्स’ भन्दै चर्चा बटुलेर लामो यात्रा तय गरेका भण्डारीको जीन्दगीकै यात्रामा ४१ वर्षको युवावयमै ‘ब्रेक’ लाग्यो ।

मदनको व्यवस्थापनमै आफूलाई सीमित गरेकी विद्यादेवीले मदनको ‘ब्रेक’ पछि नै ‘गियर चेन्ज’ गर्नुपर्ने अवस्था आयो ।

सक्रिय राजनीतिमा पुनरागमनको उद्घोष गर्दै मदनकै कुरा स्मरण गर्दै विद्यादेवीले ‘थकाई’ नमार्ने त भनिन् । तर राजनीतिमा थकाई र विश्राम फरक कुरा हुन् । थाक्नु र विश्राम लिनु फरक नै बुझेको भए त ठिकै हो, नत्र नथाक्ने, थाके पनि विश्राम नलिने अहिलेकै नेताहरुको प्रवृत्ति दोहोरिने हो भने एमालेको आन्तरिक जीवन थप तहसनहस हुनेछ ।

जाँदाजाँदै शनिबार विद्यादेवीले भाषणको अन्तिममा भनेकी थिइन्, ‘सदाझैँ सबैको सधैँभरी माया र विश्वास पाइरहुँ ।’

०८१ पुस १९ कै दिन कांग्रेस महामन्त्री विश्वप्रकाशले सुझाव दिँदै भनेका थिए, ‘राजनीतिमा आएर कसैको मात्रै बन्ने पनि सुविधा छ, राजनीति भन्दा पर, राजनीति भन्दा माथि सामाजिक परिवर्तनको नायक बनेर सबैको बन्ने सम्भावना पनि छ ।’

र, अन्त्यमा विश्वप्रकाशको सुझाव र विद्यादेवीको संकल्पको भेद समयको भेलले छुट्ट्याउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?