अन्य पार्टीमा गएका एमालेका ८ वडाध्यक्ष पदमुक्त, निर्वाचन आयोगले गरायो जानकारी

लोकपथ
49
Shares

काठमाडौं । २०७९ सालको स्थानीय तह निर्वाचनमा विजयी भई विभिन्न पार्टीमा प्रवेश गरेका ८ जना वडाध्यक्षको पद रिक्त भएको छ ।

निर्वाचन आयोगले बुधबार सूचना प्रकाशित गरी यसबारेमा जानकारी दिएको हो । 

पद रिक्त हुने वडाध्यक्षमा ओखलढुंगा मोलुङ गाउँपालिका–१ का वडाध्यक्ष कमलबहादुर बानिया, ओखलढुंगा मोलुङ गाउँपालिका–६ का वडाध्यक्ष कमल तामाङ, ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ का वडाध्यक्ष सुरेशकुमार थापा र पाल्पाको माथागढी गाउँपालिका–१ का वडाध्यक्ष राजकुमार पन्थी छन् । 

यसैगरी ललितपुर बागमती गाउँपालिका–७ का वडाध्यक्ष होमप्रसाद बजगाईं, लेटाङ नगरपालिका–४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ, मोरङ रंगेली नगरपालिका–१ का वडाध्यक्ष महेशकुमार खनाल र घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष मधुसूदन शर्माको पद पनि रिक्त भएको छ ।

राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २२ को उपनियम २ अनुसार उनीहरूको पद रिक्त भएको हो । सो उपनियममा निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेको अवस्थामा पद रिक्त हुने प्रावधान छ ।

उनीहरूलाई दल त्यागअन्तर्गत पद रिक्तको सूचना टाँस गर्न एमाले सचिवालय बैठकले निर्वाचन आयोगलाई पत्र लेखेको थियो । आयोगले त्यही पत्रका आधारमा रिक्तको सूचना जारी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?