योग्यता होइन, पाखण्डको राजनीति भइरहेको छ : शंकर पोखरेल

लोकपथ
105
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘जान्नेलाई छान्ने’ भन्ने नारामाथि कटाक्ष गर्दै त्यसको वास्तविकता क्रमशः उजागर हुँदै गएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले देशविरुद्धका गतिविधिलाई सामान्यीकरण गर्ने, राज्यविरुद्धका विध्वंसात्मक क्रियाकलापलाई बहादुरीका रूपमा प्रस्तुत गर्ने तथा स्वार्थमा आधारित ‘सेटिङ’लाई विधिका रूपमा स्थापित गर्न खोजिएको आरोप लगाए ।

उनले यस्ता प्रवृत्तिलाई ‘योग्यता’ नभई ‘पाखण्ड’को संज्ञा दिएका छन् । पोखरेलका अनुसार अर्थ विधेयकजस्तो संवेदनशील दस्तावेजमा गैरकानुनी छेडछाड गर्ने, अवैध धनका स्रोतलाई प्रणालीगत कमजोरीका रूपमा व्याख्या गर्ने तथा आफ्ना निकटका व्यक्तिलाई जुक्ति लगाएर उन्मुक्ति दिने प्रवृत्ति बढ्दो क्रममा छ ।

उनले अरूलाई जसरी पनि दोषी देखाउने प्रयासलाई समेत पाखण्डपूर्ण व्यवहारको उदाहरणका रूपमा टिप्पणी गरेका छन् ।

पोखरेलले स्वेच्छाचारिता, पक्षपात र भ्रष्टाचारलाई संस्थागत बनाउने गतिविधिले सुशासन र विकासमा गम्भीर असर पुर्‍याउने उल्लेख गर्दै विगतका कमजोरी सच्याएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । नयाँपनको नाममा गलत कार्यलाई वैधता दिन खोज्नु उचित नहुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?