लोकपथ डटकम आजबाट नवौँ वर्षमा प्रवेश गरेको छ ।
२०७४ साल वैशाख ११ गते स्थापना भएको लोकपथले ८ वर्ष पूरा गरी ९ वर्षमा प्रवेश गर्दै गर्दा केही परिपक्कता महसुस गरिरहेको छ । यहीबिचमा सामाजिक न्यायका लागि आवाज उठाउने र बेथितिमाथि थप खबरदारी गर्ने हाम्रो प्रणलाई थप बलियो बनाएका छौँ ।
२०७४ सालमा अन्य सञ्चारमाध्यमको भिडमा स्थापना हुँदै गर्दा स्थिति सहज थिएन । सयौँको सङ्ख्यामा खुलिरहेका अनलाइन सञ्चारमाध्यमबाट केही फरक हुनु, केही फरक दिनु हाम्रो उद्देश्य थियो, जसमा हामी सफल नै छौँ भन्ने विश्वास छ ।
किनभने दैनिक एक लाखभन्दा बढी पाठक, फेसबुकमा १० लाखभन्दा बढी फलोअर आदिलाई न्याय गर्नु हाम्रो कर्तव्य र दायित्व थियो र हो । साथै हामीले चिनाउन बाँकी नै रहेका हाम्रा प्रिय पाठकहरूको रुचिको विषय नै हाम्रो प्राथमिकतामा पर्ने गरेका छन् । हामीप्रतिको विश्वासका कारण दैनिक दर्जनौँ सुझावहरू विभिन्न माध्यमबाट हामीलाई प्राप्त भइरहेका छन् । त्यसलाई मूल्याङ्कन गरेर आफूलाई सुधार गर्दै पाठकमैत्री सञ्चारमाध्यमको रूपमा लोकपथलाई स्थापित गर्ने बाटोमा हामी छौँ ।
हामीलाई थाहा छ, पाठकलाई न्याय गर्न समाचारमा पनि न्याय गर्न सक्नुपर्छ । पूर्ण सत्यमा आधारित रही तथ्यसहित समाचार र रिपोर्ट दिनु हाम्रो कर्तव्य भएकाले हाम्रो पहिलो प्राथमिकता नै सामाजिक न्यायमा आधारित रही सत्य र तथ्य समाचार दिनु हो । यसमा हामी पहिला पनि लागिपरेका थियौँ, आगामी दिनमा थप लाग्ने प्रण गर्दछौँ ।
यहाँ यति चाहिँ भन्नै पर्छ, ८ वर्षको यात्रा पूरा गर्दै गर्दा हामीले विभिन्न उतारचढाव खेप्यौँ । भूकम्पले चौतर्फी क्षेत्रमा पारेको असरलाई न्यूनीकरण गर्ने अवस्थामा नै रहँदा कोरोना महामारीले अर्थतन्त्रलाई नै नराम्रोसँग थिलथिलो पार्यो । यसको मार वस्तु उत्पादन र बिक्री गर्ने उद्योगले मात्रै खेपेन, अन्य सेवामूलक उद्योगले पनि खेप्नुपर्यो, जसमा समग्र मिडिया क्षेत्र र हाम्रो संस्था पनि अछुतो रहेन ।
कोरोना महामारीबाट केही बाहिर निस्कनै लाग्दा आर्थिक मन्दीको चपेटामा पिल्सनुपर्यो, यसबाट सबैभन्दा ठुलो मार त सञ्चारमाध्यमले नै बेहोर्नुपरेको छ । जब उद्योग र व्यवसाय सञ्चालनमा आउन सक्दैनन्, उपभोक्ता हुँदैनन्, बिक्री हुँदैन त त्यहाँ नाफा पनि हुँदैन । अनि नाफा नै नहुने स्थानमा उद्योगी र व्यापारीले लगानी गर्दैनन् । अनि वस्तु, उपभोक्ता, क्रय शक्ति आदि केही नभएपछि सञ्चारमाध्यममा आउने विज्ञापनमा कटौती हुनु नौलो कुरा भएन । जसका कारण हाम्रो संस्था पनि चरम मारमा परेकै हो ।
तर पनि सत्य र तथ्य तथा प्रमाणमा आधारित समाचार र सूचना दिन हामी अहोरात्र खटिइरह्यौँ, खटिरहेका छौँ र त्यो रफ्तार अझै बढाउने तयारीमा छौँ ।
राजनीतिक, आर्थिक र सामाजिक विषयवस्तुलाई प्रमुख विषय बनाएर हामीले आम पाठकलाई सुसूचित पार्ने कोसिस गरिरहेकै छौँ । वित्तीय अपराध, आपराधिक घटना, न्यायिक विचलन र न्यायमा पहुँचका लागि समाचारका माध्यमबाट हामीले आवाज बुलन्द पारिरहेकै छौँ र आगामी दिनमा यसलाई थप शक्तिशाली बनाउने गरी काम गर्ने प्रणसमेत गर्दछौँ ।
समाचारमा हामीले व्यक्तिलाई होइन, विषयलाई प्राथमिकतामा राख्ने गरेका छौँ र यसलाई अझै सशक्त बनाउँदै जाने छौँ । यसले सत्ता र शक्तिको आडमा हुने अनियमितता, भ्रष्टाचार आदिको चिरफार गर्न हामीलाई थप ऊर्जा दिनेछ । किनभने समाचार बनाउने क्रममा ‘यहाँ हाम्रा कोही छैनन्’ र समाचार दिँदा ‘यहाँ हाम्रा सबै छन्’ भन्ने नै प्रमुख ध्येय रहेको छ ।
हामीले हाम्रा समाचारमा आवाजविहीनहरूको आवाजलाई प्राथमिकता दिने प्रयास गरिरहेका छौँ । पीडितको आवाजलाई बुलन्द पार्न हामीले निरन्तर पहल गरिरहेकै छौँ, चाहे अदालती मामिलामा फस्न नै किन नपरोस् । विकृति, विसङ्गतिमाथि सत्य र तथ्यमा टेकेर प्रहार, सरकार र निकायमाथि निरन्तर खबरदारीसहित भुईँ मान्छे, आवाजविहीन र पीडितहरूको आवाज बुलन्द बनाउँदा जुनसुकै उल्झन आए पनि हामी निरन्तर डटेर लाग्यौँ, लाग्दै छौँ र लाग्ने प्रण लिएका छौँ ।
हामीले महिला, दलित, पिछडिएका वर्ग, आदिवासी जनजाति, मधेसी, मुस्लिम आदि समुदायको आवाजलाई सधैँ प्राथमिकतामा राखेका छौँ र अझै पनि प्राथमिकतामा राख्ने नै छौँ ।
कानुनका छिद्र प्रयोग गर्दै हुने अनियमिततामा हामीले आठौँ वर्षमा पनि खबरदारी गरिरह्यौँ । सर्वोच्च अदालतको गाडी खरिदमा वर्षौँदेखि भइरहेको अनियमितता चिर्न हामीले लगातार समाचार सम्प्रेषण गर्यौँ । हुण्डाई कम्पनीको कारलाई मात्रै मापदण्डमा राख्ने गरी भएको नीतिगत भ्रष्टाचारका विषयमा निरन्तर समाचार सम्प्रेषण गरेपछि यति बेला अदालतमा हुण्डाईको सिन्डिकेट तोड्न हामी सफल भएका छौँ ।
सर्वोच्चमा तोडियो गाडीको सिन्डिकेट, हुण्डाई प्राविधिकमै फेल !
यसै गरी आठौँ वर्षमै हामीले आर्थिक प्रलोभनमा परी न्यायालयले गरेका केही गलत आदेश र फैसलाको चिरफार गर्यौँ , जसबाट माथिल्लो अदालतले ती आदेश र फैसलालाई सच्याए ।
आठौँ वर्षमा हामीले सुरक्षा निकायका बेथितिलाई पनि प्रमुख समाचारका रूपमा प्रकाशन गर्यौँ । प्रहरीको मिसनमा हुने भेदभाव, बढुवाका लागि हुने माथा पच्छी र कनिष्ठलाई बोकेर कसरी वरिष्ठ बनाउँदै नेतृत्वमा पुर्याउन लागिन्छ भन्ने विषयलाई पनि प्रमुख प्राथमिकतामा राख्यौँ ।
यी हुन् प्रबन्ध महाशाखामा बसेर ‘ज्वाइँ’ ले गरेका कर्तुत : ब्याचीलाई लखेट्नेदेखि आईजीको प्रलोभनसम्म
नवौँ वर्षमा नै हामीले कोकाकोला ब्रान्डको बोटलर्स नेपालको पुँजीगत लाभकर छली प्रकरणमा पनि निरन्तर समाचार सम्प्रेषण गर्यौँ , जसबाट कोकाकोला कम्पनीलाई पुनः कर निर्धारणका लागि निवेदन दिई अर्धन्यायिक निकायमा नेगोसिएसनका लागि जान बाध्य बनायौँ ।
कोकाकोलाले नेपालमा छल्यो ५ अर्बभन्दा बढीको लाभकर
वर्ष २०८१ को अन्त्यतिर देशको व्यवस्थामाथि नै प्रहार गर्ने खालका केही हिंसात्मक आन्दोलनहरू भए । त्यसमा सत्य र तथ्यको खोजीका लागि लोकपथकर्मीहरु निरन्तर फिल्डमा खटिएर बाहिर छरिएका भ्रम चिर्न र राज्यका तर्फबाट भएका कमी कमजोरीहरूलाई चिर्न प्रयासरत रह्यौँ र आगामी दिनमा थप ऊर्जा, जोस र उत्साहका साथ लाग्ने प्रण गर्दछौँ ।
‘ग्राउण्ड जिरो’ तीनकुने : प्रहरी रहेको भन्दै ढुंगा हानिएको घरमा मैले जे देखेँ…
आर्थिक क्षेत्रमा भएका विकास तथा आर्थिक क्षेत्रका केही सफलताका कथा पनि हामीले प्रकाशन र प्रसारण गर्यौँ । पर्यटन क्षेत्रमा भइरहेको लगानी, सुधार र प्रयास आदिलाई हामीले प्राथमिकतामा राखेर प्रकाशन तथा प्रसारण गर्यौँ ।
दलालको पन्जामा परेर विदेशमा अलपत्र नेपाली महिलालाई समाचारकै माध्यमबाट नेपाल फर्काउन सफल भयौँ, हामीले यसलाई पनि सफलता मानेका छौँ ।
तर पनि हामीले अझै पनि चाहे जति भुईँ मान्छेका कथा पस्कन सकेका छैनौँ । स्टार्टअप बिजनेसलाई थप प्रोत्साहन हुने गरी सामाग्री पस्कन अझै हामीले सकेका छैनौँ । आगामी दिनमा यसमा हाम्रो विशेष प्रयत्न रहने नै छ । साथै शैक्षिक वा व्यवसायको आवरणमा राज्यको सम्पत्तिमाथि भू-माफियाको गिद्धे नजर लागेकोबारे हाम्रो निगरानी र खबरदारी जारी नै छ ।
लोकपथलाई ९ औँ वर्षमा प्रवेश गराउन सहयोग गर्नुहुने सम्पूर्ण पाठक, विज्ञापनदाता, शुभेच्छुक सबैलाई हामी हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ । यस वर्ष हामी लोकपथलाई अझै सशक्त बनाउँदै लैजाने कुरामा प्रण गर्दै भुईँ मान्छेका कुरा र कथालाई थप समावेश गर्ने प्रतिबद्धता जनाउँदछौँ । हिजोका दिनमा झैँ आज र भोलि पनि उत्तिकै साथ र सहयोगको अपेक्षा गर्दछौँ ।
रमेश जमकटेल, अध्यक्ष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया