काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षकहरूको जारी आन्दोलनलाई अझ सशक्त बनाउन भोलि सोमबारदेखि शैक्षिक हडतालको घोषणा गरेको छ । महासंघले अब देशभरका सबै विद्यालय बन्द गरी शिक्षक–कर्मचारीलाई काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन पनि आग्रह गरेको छ ।
महासंघले आन्दोलन अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन पनि सबै शिक्षकलाई आग्रह गरेको छ ।
महासंघद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, ‘यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबै साथीहरूमा जोडदार आग्रह गर्दछौँ, ‘यो आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गरी दिनुहुन विद्यार्थी, अभिभावक, विव्यसलगायत सबै शैक्षिक सरोकार पक्षसँग आग्रह गर्दछौँ ।’
नेपाल शिक्षक महासंघ शिक्षा ऐन जारीको मागसहित माघ २० गतेदेखि निरन्तर आन्दोलनमा छ । शिक्षक आन्दोलन लम्बिँदै जाँदा देशभरका विद्यालयका शैक्षिक गतिविधि र एसईई परीक्षाको उत्तर पुस्तिका परीक्षणलगायत कार्य प्रभावित भएको शिक्षा मन्त्रालयले जनाएको छ । चैत १८ मा एसईई परीक्षा सकिएर उत्तर पुस्तिका संकलन भइरहेको छ ।
शिक्षक आन्दोलन नरोकिए एसईईको उत्तर पुस्तिका परीक्षणमा समेत ढिलाइ शिक्षा मन्त्रालयले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार पहिलो साता सार्वजनिक गर्ने कार्यतालिका तय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया