भारतसँग प्रधानमन्त्रीको सम्बन्ध बिग्रियो भनेर हल्ला फैलाइयो : एमाले

लोकपथ
280
Shares
प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी । फाइल तस्बिर

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेले वर्तमान सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छिमेकी देश भारतसँग सम्बन्ध बिग्रिएको भन्दै हल्ला फैलाइएको टिप्पणी गरेको छ ।

एमालेको हालै सम्पन्न सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले बोलेको भन्ने विषयलाई अतिरञ्जितपूर्ण तबरले सामाजिक सञ्जाल र स्वदेशी तथा विदेशी समाचारहरुमा आएको महासचिव शंकर पोखरेलले आरोप लगाए ।

आज एक विज्ञप्ति नै जारी गरेर उनले नेपाल सरकार र भारतबीच कुनै तिक्कता नरहेको स्पष्ट पारे । साथै अध्यक्ष ओलीले भन्दै नभनेको विषयलाई मिडियामा ल्याएर सरकार र भारतको सम्बन्ध बिगार्न लागिएको भन्दै कटाक्ष गरेका छन् ।

‘नेकपा एमालेको हालै सम्पन्न सचिवालय बैठकसँग सम्बन्धित विषयमा केही नेपाली र विदेशी मिडियाहरुमा प्रकाशित समाचारबारे हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । पूर्वराजावादीहरुको केही दिन अगाडिको प्रदर्शनलाई लिएर प्रधानमन्त्रीले भन्नुभएको भनेर प्रकाशित गरिएका विषय निराधार र अतिरञ्जित छन्,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘तिनले अनावश्यक सनसनी फैलाउने एवं नेपाल र भारतबिचको युगौँ पुरानो सम्बन्धमा आशङ्का बढाउने दुराशय बोकेका छन् ।’

एमाले अध्यक्ष ओलीले पूर्व राजा ज्ञानेन्द्र शाह बाहिरबाट परिचालित भएको भन्दै सचिवालय बैठकमा असन्तुष्टी जनाएको विषयमा बाहिरिएको थियो । पछिल्लो समय ओलीसँग व्यक्तिगत रुपमा भारत रिसाएको टिप्पणी भइरहेका बेला कतै ओलीको बाहिर भन्ने संकेत भारत त होइन भन्ने समेत आशंका गरिएको थियो ।

त्यसबारे कटाक्ष गर्दै एमाले महासचिव पोखरेलले भने, ‘हामीले अबलम्बन गरेको लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सार्वभौम चयनको विषय हो । संसारका कुनै पनि लोकतान्त्रिक मुलुक र जनता लोकतन्त्रका ठाउँमा निरङ्कुशतन्त्रलाई प्रश्रय दिन सहमत हुन सक्दैनन् भन्ने कुरामा हामी स्पष्ट छौँ । इतिहासको पाङ्ग्रालाई पछाडि फर्काउने कुनै पनि प्रयासलाई नेपाली जनताले सहजै विफल पार्छन् भन्ने कुरामा हामी विश्वस्त छौँ ।’

त्यस्तै नेकपा एमाले र पार्टी नेतृत्व वर्तमान सरकार नेपाल-भारत सम्बन्धलाई अझ प्रगाढ बनाउन कुनै विषय भए त्यसलाई कुटनीतिक माध्यमबाट समाधान ग र्न र बलियो विकास साझेदारी अगाडि बढाउन प्रतिबद्ध रहेको समेत बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?